दोकानडाँडा । बर्खाको समय थियो । स्थानीय युवा प्रमिश थापा हिँड्दै गर्दा अचानक उनको आँखा चुहिने छाना भएको एउटा घरमा पर्यो ।
जुन घर बर्षौदेखि चुहुने छानो र हावा पानी नछेक्ने बेराले बारिएको बस्नेत दाजुभाईको थियो । जहाँ बस्थे छत्रबहादुर बस्नेत ‘ठुले’ र प्रदिप बस्नेत ‘साइला’ ।
साँझपखको समय ओछ्यानमा पल्टिरहेका थिए ‘ठुले र साइला’ । उनीहरु माथि थियो भ्वाङ् परेको पुरानो सिरक अनि उनीहरुलाई स्पर्श गर्न सिरकलाई छिचोल्दै आइपुग्थ्यो आकाशे पानी ।
जब उनले ठुले र साइलाको घर अनि पानीले भिजेको डसनासहितका तस्विरहरु गाउँको फेसबुक पेजमा पोष्ट गरे, त्यहीबाट सुरुभयो बस्नेत दाजुभाईको घर बनाउने महानकर्म ।
सोही घरमा पूर्व प्रतिवद्धता जनाइए अनुसार लक्ष्मीपुजाको अवसर पारेर सोमबार ठुले र साइलालाई पञ्चेबाजासहित प्रवेश गराइएको छ ।
स्थानीय नवज्योती युवा क्लब, दोकानडाँडा युवा परिवार र बाहुण्डाँगी जेसीजको सहकार्यमा घर निर्माण कार्य लगभग सकिएको छ ।
देश विदेशमा रहनु भएका दाताबाट करिब ६ लाख रुपैयाँको लागतमा घर निर्माण सम्पन्न गरिएको निर्माण समिति सचिव देबु बानियाँले जानकारी दिए । घर निमार्णमा अधिकांश दाताहरुबाट जिन्सी सामान लिइएको बानियाँले बताए ।
‘नगद त हामीसँग दुई लाख मात्र थियो होला- मिस्त्रीखर्च, दाताहरूले चारलाखबढीको त सामाननै सहयोग गर्नुभयो’, उनले भने ।
घर प्रवेश गराउन गोर्खा टेललिरिङ बिर्तामोडले दाजुभाइलाई नेपाली पोशाक उपलब्ध गराएको निर्माण समिति कोषाध्यक्ष प्रमिश थापाले बताए ।
घर निर्माण भएसँगै सँधैजसो विरामी पर्ने साइला यतिबेला स्फूर्त देखिएका छन् । छिमेकीहरुका अनुसार केही सुस्त मनस्थितिका ठुले र साइला यतिबेला दुबै अस्वभाविकरुपमा खुःशी छन् । उनीहरूको स्वास्थ्यमा समेत एकाएक सुधार आएको छ ।
सोमबार स्थानीय गाउँले, जनप्रतिनिधि, दाताहरु, समाजसेवी, पत्रकाहरुको उपस्थितिमा बस्नेत दाजुभाईलाई नयाँ घरमा भित्र्याएको छ ।
सो अवसरमा मेचीनगर १० नं वडा सदस्य सोम ओझा, पूर्व वडाध्यक्ष नबीन बराललगायतले शुभकामनासहित बस्नेत दाजुभाईलाई गृह प्रवेश गराएका थिए ।