झापा । सात प्रदेशका उत्कृष्ट २१ विद्यालयको सूचीमा झापाको आदर्श मावि पर्न सफल भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत प्राप्त जानकारीमा आर्थिक वर्ष २०७९/०८० मा व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयका सूची सार्वजनिक भएका हुन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (एजुकेशन रिभ्यु अफिस, इआरओ)को मूूल्यांकनमा सोही आर्थिक वर्षमा उत्कृष्ट हुँदै यसअघि नै आदर्श माविले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिसकेको छ ।
शैक्षिक तथा व्यवस्थापकीय पक्षमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई कार्यसम्पादन परीक्षणबाट भएको मूल्यांकनमा पुरस्कृत गरिँदै आएको छ ।
गत आर्थिक वर्ष ०७९/०८० मा केन्द्रले प्रकाशित गरेको प्रतिवेदनमा आदर्श मावि मेचीनगरले कुल ८५.८ अंक प्राप्त गरेको छ । कोशी प्रदेशमा पोखरीया मावि विराटनगर मोरङ ९१ अंकका साथ पहिलो स्थानमा छ ।
देशभरमा कालिका मानवज्ञान मावि बुटवल ९३.५ अंकका साथ पहिलो स्थानमा छ । दोस्रो भएको बिन्धवासिनी मावि कास्कीले ९३.३ तथा तेस्रो बनेको श्रीपदम मावि भक्तपुरले ९२.९ अंक प्राप्त गरेको छ । देशभरमा भने आदर्श मावि मेचीनगरले ११ औं स्थान प्राप्त गरेको छ ।
इआरओ’ को मूल्यांकन सूचकले विद्यालयलाई समयानुकुल आफूलाई परिस्कृत बनाउँदै लैजान बाध्यकारी अवस्थाको सिर्जना गरेको नेपाल सरकार शिक्षा प्रशासन शाखाका उपसचिव होमनाथ भण्डारी बताउँछन् ।
उनले विद्यालयको हरेक गतिविधि र उपलब्धिलाई तथ्यांकमार्फत अभिलेखिकरण गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘शिक्षालाई लगानी, प्रकृया र प्रतिफलसँग जोडेर हेर्न थालिएको छ ती सबैको अभिलेख पनि अब उत्तिकै जरुरी छ ।’