मेचीनगर । लागू पदार्थको कारोबार रोक्न काँकरभिट्टामा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार मेचीनगर ६, स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा आम नागरिकको वृहत् सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा बढ्दो दुव्र्यसन र ओसारपसार सम्बन्धमा अन्तरिक्रया तथा छलफल आयोजना गरियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले दुव्र्यसन रोक्न सबै क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए ।
सांसद तामाङले अहिले सकारात्मकभन्दा नकारात्मक कार्यलाई बढावा दिने चलन बढेको बताउँदै यसलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।
कार्यक्रमकी विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले स्थानीय सरकारले स्थायी समाधानका लागि सरोकारवालाहरुसँग समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, वडा नं ६ अध्यक्ष ललितबहादुर तामाङ, वडा नं ८ अध्यक्ष गिरीराज धमला, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याललगायत अतिथि प्यानलिष्टको रुपमा सहभागी थिए ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले स्वागतसँगै एक वर्षको अवधिमा झापामा भए गरेका लागू औषधका घटना सम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अन्य सहभागीले समाधानका लागि राज्यले गर्नुपर्ने कामका विषयमा धारणा एवम् सुझाव प्रस्तुत गरेका थिए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।