काँकरभिट्टा। अर्थशास्त्र केन्द्रीय विभागअन्तर्गत त्रिभुवन विश्वविद्यालयका 'गोल्ड मेडलिस्ट' कपिल पोख्रेललाई काँकरभिट्टामा सम्मान गरिएको छ ।
काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो वार्षिक साधारण सभाको अवसरमा अर्थशास्त्र विभागका 'टियू टपर' पोख्रेललाई सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संस्थाका अध्यक्ष भुपाल शिवाकोटीलगायतले नगद १५ हजार रुपैयाँ तथा प्रशंसा पत्रद्वारा सम्मान गरे ।
सम्मानपछि बोल्दै पोख्रेलले सहकारीको स्थापना नै निम्नस्तरका नागरिकका लागि भएकाले लक्षित सदस्यहरुको उत्थानमा हरेक सहकारीहरु लाग्नु पर्ने बताए ।
उनले देशको अर्थतन्त्रलाई माथि उठाउन सहकारीको भुमिका महत्वपूर्ण रहने आर्थिक तथ्यांकले देखाएको धारणा राखे ।
कार्यक्रमका वक्ताहरुले पोख्रेलको प्रशंसा गर्दै स्थानीय स्तरमा मात्र नभएर देशकै अर्थतन्त्रको उत्थानमा अर्थशास्त्र विषयमा उनले हासिल गरेको योग्यताको सदुपयोग हुने अपेक्षा गरे ।
मेचीनगर-६, काँकरभिट्टा स्थायी घर भएका पोख्रेलले व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहमा नेपालभर सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् ।
पोख्रेल त्रिभुवन विश्वविद्यालयले हालै आयोजना गरेको दीक्षान्त समारोहमा तीनवटा पदकले दीक्षित भएका थिए ।