बाहुण्डाँगी । मेचीनगर तरुल उत्सव बाहुण्डाँगीमा सुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजनामा २ दिन चल्ने उत्सवमा तरुलसँगै स्थानीय उत्पादन प्रदर्शनका लागि राखिएको छ ।
तरुल उत्सवको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गरे । कार्यक्रमको समुद्घाटनपछि बोल्दै मन्त्री उप्रेतीले ग्रामीण पर्यटन र उत्पादनलाई बढाउन गरेको नगरपालिकाको प्रयास प्रशंसनीय रहेको बताए ।
उनले बाहुण्डाँगीबासीले आफ्नो स्वभावलाई बदलेर हात्तीसँगै जीवन जिउन सिक्नु पर्ने धारणा राखे ।
मन्त्री उप्रेतीले झापाको बाहुण्डाँगीदेखि उदयपुरसम्म बन्ने हात्ती करीडोर फागुनदेखि निर्माण सुरु हुने बताए ।
उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गौरबको उत्सवको रुपमा नगरपालिकाले तरुल उत्सवको अपनत्व ग्रहण गरेको बताईन् ।
कार्यक्रम संचालनको भूमिकामा रहेका वडा नं ४ अध्यक्ष अर्जुनकुमार कार्कीले तरुल उत्सवलाई स्थानीय उत्पादनसँग जोड्ने प्रयास गरिएको बताए । “”फापर बेचेर मैदा र आलु बेचेर चिप्स किन्ने प्रवित्तिले अर्गानिक स्वाद हराउँदै गएको छ, अध्यक्ष कार्कीले भने- गाउँ घरमा फलेका साग सब्जी, खाद्य बाली र घरेलु उत्पादनलाई बजारीकरण गर्नु उत्सवको मुल उद्देश्य हो ।”
मेचीनगर सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भारतबाट आएका पर्यटन अभियन्ता राज बशुलगायतले नेपाल भारत सम्बन्धलाई जोड्न यस्ता उत्सवले मद्दत गरेको बताए ।
उत्सवमा राखिएका स्टलमा तरुलसँगै स्थानीयस्तरमा उत्पादन गरिएका मह, अचार, घरेलु तानबाट बुनिएका उन, ढाका तथा खाँडीका कपडालगायतका सामग्रीहरु प्रदर्शन गरिएको छ ।
उत्सवलाई र्यापिड रेस्पोन्स टिम, बाहुण्डाँगी जेसीज, पर्यटन कार्यलय काँकरभिट्टा तथा साहरा नेपालले सह-आयोजना गरेका छन् । उत्सवमा स्थानीय तथा भारतबाट आएका कलाकार, विद्यार्थीलगायतले प्रस्तुति दिइरहेका छन् ।
तस्बिरहरु :