बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले एकैदिन तीन कार्यक्रम सम्पन्न गरेको छ ।
तरुल उत्सवलाई सह-आयोजना गरेको जेसीजले सोही उत्सवमा तीन फरकफरक कार्यक्रमको आयोजना गरेको थियो ।
उत्सवको दोस्रो तथा अन्तिम दिन सोमबार रक्तदान, चित्रकला तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको सह-आयोजक जेसीज अध्यक्ष देबु बानियाँले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमा १० महिलासहित ३३ जना सहभागी भए ।
अस्पतालमा जुनसुकै बेला हुन सक्ने रगत अभाव जस्तो संवेदनशील समस्या कम गर्ने उद्देश्यले रगत संकलन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बानियाँले बताए ।
त्यस्तै दोस्रो कार्यक्रमको रुपमा चित्रकला निर्माण, प्रदर्शनी तथा विक्रीवितरण गरिएको थियो ।
चित्रकार अर्जुन बस्नेतसहित विभिन्न विद्यालयका २५ जना विद्यार्थीहरुको समूहले चित्र कोरेको थियो ।
आगन्तुकको तत्काल चित्र निर्माण गरी तस्बिर विक्री गरिएको थियो । सो अवसरमा अतिथि, उत्सवमा आएका स्थानीय, जीवजन्तुलगायतको चित्र निर्माण गरिएको थियो ।
त्यस्तै सोही अवसरमा काँकरभिट्टा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ८० जनाको आँखा परीक्षण गरिएको अप्ट्रोमेटृष्ट रोजल थापाले जानकारी दिए ।
जसमा १७ जनाको शल्यक्रिया गर्नुपर्ने, ११ जनामा मोतिविन्दु, ६ जनामा मासु पलाएको समस्या देखिएको प्राविधिक थापाले बताए । त्यस्तै ३७ जनामा चश्मा प्रयोग गर्न सुझाव दिएको थियो ।
मेचीनगर नगरपालिकाको आयोजनामा २ दिनसम्म चलेको उत्सवको समापन समारोहमा प्रमुख अतिथि विश्वप्रकाश शर्मा, उत्सवका संयोजक हृदय राजवंशी, पर्यटन अभियन्ता रमेश थापालगायतले संबोधन गरेका थिए ।
समापन समारोहमा हास्य कलाकार राजाराजेन्द्रले दर्शक तथा सहभागीलाई क्यारिकेचरमार्फत मनोरञ्जन गराएका थिए ।
कार्यक्रमको सहजीकरण वडाध्यक्षहरु दिपक बराल, अर्जुन कार्की, नारायण कडरियालगायतले संचालन गरेका थिए ।