काँकरभिट्टा । काँकरभिट्टास्थित ट्राफिक प्रहरीलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच जनस्तरबाट निर्माण गरिएको सुविधायुक्त भवन हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै निर्माण समितिका आर्थिक संयोजक सुभाष गुरुङले २२ लाखबढीको लागतमा भवन निर्माण गरिएको जानकारी दिए।
गत भदौ ६ गते शिलान्यास गरिएको भवन ४ महिनाको अवधिमा निर्माण सम्पन्न भएको हो ।
मेची सामुदायिक सेवा केन्द्र अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा निर्माण समिति बनाईएको थियो ।
अध्यक्ष पौडेल आफैले भवन निर्माणको शिलान्यास गरेका थिए ।
निर्माण समिति अध्यक्ष मुक्ति पौडेलले अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा सयबढी दातालाई सम्मान गरिएको छ ।
काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित दाता सम्मान कार्यक्रममा १०२ जना दाता सम्मान गरिएको थियो । भवन निर्माणमा स्थानीय, उद्योगी व्यवसायीदेखि संघ-संस्थाले सहयोग गरेका छन् ।
२ लाख ५१ हजार सहयोग गरेका विर्तामोडका प्रदिप मित्तलले भवनको रिबन काटेर उद्घाटन गर्नेछन् ।
दाता सम्मान कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रवीन कोइरालाले प्रहरीले अब प्राविधि अनुसार कार्यशैली बदल्दै लैजानुपर्ने बताए । सुविधाजनक भवन पाएसँगै ट्राफिकको कार्य सम्पादन अझ जिम्मेवार र परिस्कृत बन्दै जाने विश्वास व्यक्त गरे ।
सो अवसरमा बोल्दै नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले सामुदायिक सेवा केन्द्रले पछिल्लो समय गौरवपूर्ण काम गर्दै आएको बताइन् । उनले पूर्वको महत्त्वपूर्ण नाका काँककरभिट्टामा ट्राफिक प्रहरी जनशक्ती पर्याप्त नरहेको ट्राफिक प्रहरी प्रदेश प्रमुखसमक्ष ध्यानाकर्षण गराईन् ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मेचीनगरमा प्रहरीले पाएको मायाप्रति आफू नतमस्तक रहेको बताए ।
नेपाली काँग्रेस झापा उपसभापति केशवराज पाण्डेले नामले बद्नाम काँकरभिट्टालाई बदनाम नभइ ईतिहास रचेका बौद्धिक स्तरका नागरीक बसेको सहरको रुपमा चिनाउन संचारकर्मीहरुलाई आह्वान गरे ।
नेकपा माओवादी केन्द्र नगर इन्चार्ज माधव आर्यालले समाजसेवामा लागेका मान्छेलाई सामाजिक अवहेलना गर्ने गरिएको भन्दै सामुदायिक अध्यक्ष पौडेलको नेतृत्वले समाजमा इमान्दर पूर्वक काम गर्ने मान्छे अझै छन् भनेर साबित गरेको बताए ।
भवन निर्माण सल्लाहकार समिति सदस्य शुभद्रा अर्यालले संचालन गरेको कार्यक्रममा स्वागत निर्माण समिति उपाध्यक्ष खडानन्द भण्डारीले गरेका थिए ।
काँकरभिट्टास्थित पुरानो भन्सारमा निर्माण सम्पन्न भएको भवनमा ब्यारेक, आवाससहितको इन्चार्ज कक्ष, कार्यालय, चमेना गृहलगायतका सुबिधाजन्य संरचना बनेका छन् ।