बिर्तामोड । पत्रकारिता क्षेत्रले समेट्नु पर्ने विविध पक्षबारे अन्तरकृया सम्पन्न भएको छ ।
बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापाको सभाहलमा आयोजित अन्तरकृया कार्यक्रममा अग्रज पत्रकार तथा झापाली संचारकर्मी सहभागी रहे ।
महासंघ झापाले शुक्रबार आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई अग्रज पत्रकारद्वय श्रवण शर्मा र तीर्थ कोइरालाले सहजीकरण गरेका थिए ।
अन्तरक्रियाको सुरुवातमा द्वन्द्व विश्लेषक तथा प्रकृति अधिकार अभियन्ता श्रवण शर्माले जुन चिजले हाम्रो स्वास्थ्य ध्वस्त बनाई रहेको छ त्यस्लाई समाचारको विषय बनाउन नसकिएको धारणा राखे ।
सिडीइआर यूएसएका नेपाल प्रतिनिधिसमेत रहेका शर्माले कार्बनको उत्सर्जनबाट पृथ्वीमा जीवन धरासायी बन्दै गएको बताउँदै कार्बनडाईअक्साइडको उपभोग गर्ने बनजंगल बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
उनले हाम्रा खेतबारीमा उब्जने खाद्यबाली अस्वस्थ बन्दा मानव स्वास्थ्यमा पर्ने प्रतिकुल असर निरन्तर बढ्दै गएको बताए । पानीको स्रोत सुकेर नदीहरु सानो बन्दै जानू जलवायु परिवर्तनको डरलाग्दो अवस्थाको संकेत गरिरहेको शर्माले बताए ।
कार्यक्रमका अर्का सहजकर्ता नेपाल प्रेस इनिस्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले नेपाली पत्रकारिता राम्रो र नराम्रो छान्नमै व्यस्त रहेको बताए ।
“हामीले हाम्रो भूगोल, संस्कृति र परम्परा भुल्दै गएका छौं, कोइरालाले भने- सरकार र शासकको आलोचना गर्दै हाम्रो समय गइ रहेको छ । इतिहासका महत्वपूर्ण घटना र परिस्थितिबारे हामी अझै अनविज्ञ छौं ।”
कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार तारा बरालले पत्रकारिता राजनैतिक रङबाट माथि उठ्न जरुरी रहेको बताए । “दलीय झुकाव राखेर समाचार लेख्ने प्रवित्तिले समाचारमा निस्पक्षता हराउँदै गएको छ, पत्रकार महासंघ झापाका पूर्व अध्यक्षसमेत रहेका बरालले भने- हामीले जस्का लागि समाचार लेख्न खोजी रहेका छौं लक्षित वर्गलाई हाम्रा समाचारले छुन सकि रहेका छैनन् । यसमा ध्यान पुर्याउन जरुरी छ ।”
अन्तरक्रियामा उठेका विषयवस्तु माथि सहभागीको तर्फबाट पत्रकार दिपीन राई, ज्ञानेन्द्र निरौला, पर्वत पोर्तेल, प्रदिप परियार, स्वस्तिका आचार्यलगायतले जिज्ञासा राखेका थिए ।
सो अवसरमा पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्यलगायतले धारणा राखेका थिए ।
महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराई र संचालन सचिव डिकेश लामाले गरेका थिए ।
अन्तरक्रियामा झापाका अग्रज पत्रकारसहित ६० बढी संचारकर्मी सहभागी थिए ।