काँकरभिट्टा । कोशी प्रदेश सरकारले सडक सुरक्षा अभियान सुरु गरेको छ ।
शुक्रवार आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले काँकरभिट्टाबाट अभियानको सुरुवात गरेका हुन् ।
सो अवसरमा सवारी चालक तथा सहचालकले लागुपदार्थ सेवन गरे नगरेको सम्बन्धमा जाँच गरिएको छ ।
त्यसक्रममा १० चालक तथा सहचालकमा परीक्षण गर्दा ९ जनाले लागुपदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ ।
उनीहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले बताए ।
त्यस्तै, सडक सुरक्षा अन्तर्गत नै चालकको आँखा जाँचसमेत गरिएको छ ।
काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोगमा भएको जाँचका क्रममा १९ महिलासहित ७५ जना सहभागी थिए ।
प्रदेश सरकारले झापाको काँकरभिट्टा र मोरङको विराटनगरबाट प्रदेशभर चल्नेगरी एकसाथ अभियान सुरु गरेको छ ।
अभियानको उद्घाटनका क्रममा मन्त्री राईले सुरक्षित सडकका लागि सवारी चालकको विशेष निगरानी बढाइएको जानकारी दिए ।
सो अवसरमा कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, जिल्ला ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपाने, काँकरभिट्टा बस पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठ, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, यातायात सम्बद्ध संघसंगठनका प्रमुखहरुको उपस्थिति थियो ।