चारआली । स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको झापाको चारआलीस्थित ‘चारआली सांस्कृतिक महोत्सव -२०८०’ सुरु भएको छ । चारआलीमा ११ गते बिहीबार आयोजित समउद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय सबिना बजगाँईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी थिइन् ।
भोजराज पराजुलीको अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यबाहक मेयर हृदय राजबंशीले सांस्कृतिकले जोड्ने, राजनीतिले उथलपुथल ल्याउने बताए । कार्यक्रमबारे प्रकाश टाँसी फुन छोग् छोई खोरलिङ गुम्बाका सचीव सोनमसिंह तामाङले गरेका थिए । कार्यक्रमको समापन फुर्वा लामाले गरेका थिए ।
चारआली क्षेत्रको पहिचान र पर्यटन प्रवर्द्धनका लागि माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सवको प्रदर्शनी साथै जातजातीका पहिचान, स्थानीय ब्यवसायका स्टल, खेल तमासा, मनोरञ्जनका सामाग्रीका स्टल रहने आयोजकले जनाएको छ ।
महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा, नेपालका चर्चित गायकहरु प्रमोद खरेल, रचना रिमाल, सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर , भिटेनलगायतका रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने छ भने स्थानीय कलाकारले महोत्सवअवधिभर कला र सांगीतिक प्रस्तुति गर्ने सहआयोजक चारआली जेसीसले जनाएको छ ।