इटाभट्टा । अभियन्ता दुर्गा प्रसाईंले नेपालमा पछिल्लो समय राजनीतिक नेतृत्वकै कारण सारा मान्छे विदेशिनु परेको बताएका छन् ।
मंगलबार विद्यार्थी भर्नाको क्रममा मेचीनगर-८, स्थीत आदर्श मावि इटाभट्टा आइपुगेका प्रसाईंले अहिले हाम्रै नेताहरुको कारण प्रत्येक घर रित्तो हुँदै गएको बताए ।
'हामीले जहाँनिया राणा शासन फालेर प्रजातन्त्र ल्यायौं, प्रजातन्त्रले नपुगेर गणतन्त्र ल्यायौं प्रसाईंले भने-'एउटा श्रीमान गम्भीर र राजसंस्था हटाउन बाहेक जनताको केही परिवर्तन भएन ।'
सारा मान्छे विदेशिने प्रवृत्तिले सन्तान नजन्मने र परिवार टुट्ने कारणले भविष्यमा विद्यालयहरु रित्तो हुने अवस्था नआउला भन्न नसकिने भन्दै उनले चिन्ता व्यक्त गरे ।
पहाड तिर अहिलेनै स्कुलहरु रित्तिदै गएको बताउँदै प्रसाईंले सरकारी विद्यालयमा सेवा सुविधा बढाएर आकर्षण थप्दै जानू पर्ने धारणा राखे ।
उनले शिक्षा क्षेत्रमा निरन्तर लगानी गर्दै आएको बताउँदै आगामी दिनमा आदर्श माविलाई समेत आफुले केही सहयोग गरेर विद्यालयसँग जोडिने प्रतिवद्धता जनाए ।
प्रसाईं आफ्ना अभियन्तासँगै मंगलबार विद्यालयमा उपस्थित भएर भर्ना कार्यक्रममा प्रत्यक्ष सहभागी भएका थिए । सो क्रममा उनले विद्यार्थी तथा अभिभावकहरुसँग अन्तरसंवाद समेत गरेका थिए ।
प्रसाईंले विद्यालयमा कक्षा ४, ५, ७ र ९ मा अध्ययनरत विद्यार्थीहरु कृष्टिना, तेजस्वी, लक्ष्मी र स्वस्तिका नेपालको अभिभावकत्व ग्रहण गर्दै विद्यालय तहको अध्ययनको सम्पूर्ण दायित्व आफुले निर्वाह गर्ने बताए । प्रसाईंले उनीहरुले इच्छा व्यक्त गरे आफ्नै मेडिकल कलेजमा नर्सिङ र एम्बीबीएस् सम्मको पढाइमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
सो क्रममा प्रसाईंलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्का, प्रधानाध्यापक कृष्ण पुरी, शिक्षक अभिभावक संघ अध्यक्ष भोलानाथ तिम्सिना, सहायक प्रअ हेमेन्द्र निरौलालगायतले स्वागत तथा सम्मान गरेका थिए ।