झापा । मेरो ब्रेस्टमा क्यान्सर छ भन्ने पुष्टि भएको दुई वर्ष बित्यो, उतीनै वर्ष पार ग¥यो सर्जरीले अनि १९ महिना भई सकेछ उपचार सकिएको । यी अवस्था पार गरिरहँदा अहिले म पूर्णरुपमा स्वस्थ महसुस गरिरहेकी छु । क्यान्सर प्रमाणित हुनु अघि मेरो जीवन सामान्य रुपमा अघि बढिरहेको थियो । २०७५ सालबाट मेरो शरीरमा विभिन्न समस्याहरु अनुभव गर्न थालें । आँखा–घाँटीमा एलर्जी तथा घाँटीमा केही अडकिए जस्तो हुने, हातखुट्टा दुख्ने र बाउँडिने, महिनावारी गडबढी, अधिक रक्तश्राव, पिसावमा इन्फेक्सन भइरहने जस्ता समस्याहरुले सताइरहन्थ्यो । यसरी शरीरमा विभिन्न समस्याहरु भइ रहँदा उपचारको लागि झापा वा काठमाण्डौं जानुपर्ने बाध्यता थियो । किनकि उबेला इलाममा डाक्टरहरुको सधैं अभाव भइरहन्थ्यो । सोही बेला काठमाडौं सरुवा गरेर जाने सोच पनि नबनाएको होइन तर, तर शिक्षकको जागिर सरुवा मिलाउन सहज थिएन । काठमाण्डौं सरुवा संभव नभएपछि सरुवा र उपचारको विकल्पमा आयो झापा । सोही मेसोमा सरुवाको टुङ्गो लगाउँदै २०७६ वैशाखमा आईपुगे मेचीनगर–८ स्थित, आदर्श माध्यमिक विद्यालयमा ।
यसपछि भने स्वास्थ्य परीक्षणमा धेरै सहज भयो । झापा सरुवा भएको करीब ६ महिना पछि मेरो देब्रे हातमा दुखाइ सुरुभयो । कहिले साह्रो दुख्ने कहिले कम दुख्ने हुने भइरह्यो । बिस्तारै हात माथि तथा पछाडि जान गाह्रो हुनथाल्यो । हड्डी सम्बन्धी वरिष्ठ चिकित्सकलाई देखाइयो वहाँले फ्रोजन सोल्जर हो भनी इन्जेक्सन थमाई दिनुभयो । डाक्टरबाट नियमित शारीरिक व्यायाम र महिनामा एउटा इन्जेक्सन लगाए ठिकहुन्छ भन्ने सल्लाह प्राप्त भयो । वर्षमा एकपटक मेमोग्राम गर्ने गरिएको नै थियो किनकि आमा र सानिमालाई क्यान्सर भएको कारणले मलाई पनि जेनेटिक हुन सक्ने आशङ्का डाक्टरहरुको थियो । मलाई विस्तारै कमजोरी महसुस हुन थाल्यो । घरका कामहरु गर्न मन नलाग्ने, खाना बनाउन तथा खान मन नलाग्ने, निन्द्रामा समस्याहुने, घाँटीमा केही चिज अडकिए जस्तो हुने समस्याहरु देखा पर्न थाले । विद्यालयमा हुन्जेल खासै केही हुँदैनथ्यो तर घरमा फर्किएपछि भने साह्रै थकित हुन्थे ।
२०७८ मंसिरमा भाइ प्रशान्तको विवाहको लागि इलाम गएकी थिए । सधै इलाम गएको समयमा भान्सामा आफै जाने पकाउने र बुवाआमालाई खुवाउने गर्थें तर यो समयमा म केही गर्न मन नलाग्ने कमजोर र प्राय खुट्टा बाँउडिने र रिङ्गटा लाग्ने समस्याबाट ग्रसित भएकी थिएँ । पुष महिनामा मेरो मास्टर्स डिग्रीको दोस्रो सेमेष्टरको परीक्षा आइरहेको थियो । परीक्षा सुरु हुनै अगाडिबाटै मलाई महिनावारी भएको २२ दिन सम्मपनि रक्तस्राव भइ रहेकोले झनै कमजोर बनायो । फागुन महिनामा सँगै काम गर्ने साथी पूजाको विवाह थियो । मैले किनमेल लगायत तयारीमा सहयोग गर्नु थियो तर अस्वस्थताको कारणले फूलमाला र विवाहमा सहभागी मात्र हुन सकें । यो बीचको अवधिमा मैले धेरै पटक डाक्टरलाई देखाइ सकेको थिएँ भने झारफुकले पो ठिकहुन्छ कि भनी धामीकोमा पनि पटक पटक गएँ, त्यो बेला वास्तवमा केही नलाग्दाको सहारा धामीझाँक्री रहेछ भन्ने अनूभूती भयो ।
फागुन महिनाको दोस्रो साता विहानको समयमा नानीहरु विद्यालय गएका थिए घरमा म एक्लै थिएँ । मलाई अनायसै कामज्वरो आयो, जीउ पुरै लगलग काम्यो, जीउभरि काँडा उम्रियो । मैले तुरुन्तै सिटामोल खाएँ । केही समयको आरामपछि म स्कूलगएँ । सोहीदिन बेलुकी मैले देब्रे स्तनमा एउटा गाँठोको महसुस गरें । भोलिपल्ट छोराको साथमा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड गएर मेमोग्राम गरें । रिर्पोट अर्को दिनआयो । डाक्टरले रिर्पोट हेरेर डराउनु पर्ने केही छैन कहिले कही हार्मोनको गडबढीले पनि यस्तो हुन्छ भनी पाँच दिनको औषधि खाएर हेरौँला भन्नुभयो । औषधि नियमित सेवन गरेँ तर दुखाइ २० को १९ भएन । त्यसपछि मैले काठमाडौं गएर जचाँउनु ठिक होला भन्ने ठानेर काठमाडौंको धुम्बाराही स्थित हेम्स अस्पताल गएर डाक्टर प्रकाश सायमीलाई देखाएँ । वहाँले सर्सती हेरेर एफ.एन.एस.सी. परीक्षण र अल्ट्रासाउण्ड गर्न लगाउनु भयो । यी दुवैको परीक्षणको रिर्पोटमा पनि त्यति स्पष्ट नदेखिएकोले वहाँले भन्नुभयो “क्यान्सर नै हो जस्तो छ अब बायोप्सी परीक्षण गराउनु पर्छ ।
यदि क्यान्सर होइन रहेछ भने पनि अपरेसन चाहिँ गर्नै पर्छ त्यसको तयारीमा बस्नु होला ।” वहाँको यो भनाइले मेरो होसहवास उड्यो । अब मलाई मेरो जीवन सकिएछ जस्तो लाग्यो । सबैतिर अँध्यारो छाएझैं लाग्यो । कुनै भारि चिजले छातिमा थिचेझैँ लाग्यो । हामी अस्पतालबाट कोठामा पुग्यौं । म त बाटोभरि केही नबोली हिडिरहेँ । कोठामा पुगेर धेरैबेर रोएँ । श्रीमान्ले निक्कैबेर सम्झाउनु भयो । यसरी रोएर केही हुने होइन, मन दह्रो बनाउनुपर्छ, केहीहुन्न । रुवाइले आफूलाई झन कमजोर बनाउँछ । उपचार गरौँ सबै ठिकहुन्छ भन्नुभयो । हुन पनि हो अब उपचार बाहेक अरु उपाय पनि केही थिएन ।
भोलिपल्ट हामी भक्तपुर क्यान्सर अस्पताल गएर डा. स्वेता बराललाई भेट्यौं, सबै रिर्पोटहरु र भएका सबै कुरा गर्यौँ । वहाँले डा. दीप लामिछानेसँग भेट गराउनु भयो । वहाँले जाँच गरेपछि बायप्सी परीक्षणको लागि भोलिपल्टको समय दिनुभयो । अर्को दिन बायोप्सीको नमूना दिएर हामी कोठा फर्कियौँ । रिर्पोट आउन १०÷१२ दिन लाग्ने रहेछ । यो समय मेरो लागि अत्यन्तै कष्टप्रद रह्यो । यो बेला मनमा धेरै प्रकारका तर्कनाहरु उठ्थे । क्यान्सर नै भए उपचार कसरी गर्ने होला ? पैसाको व्यवस्था कसरी गर्ने होला ? उपचार अवधिभरको बसाइ व्यवस्थापन कसरी गर्ने होला ? नानीहरु के गर्ने होलान् ? अहिलेसम्म एकै दिन अलग्गै नछोडेका नानीहरु के गर्छन् होला ? उनीहरुको पढाइ कसरी अघिबढ्ला ? विद्यालयमा विदा के होला ? यस्तै अनेकौँ प्रकारका विचारहरु उठ्थे ।
अन्त्यमा बायोप्सीको रिर्पोट पनि आयो क्यान्सर नै भएको पुष्टिभयो । त्यसपछि तनाव झन बढ्यो । तथापि यो समयसम्ममा मैले आफू उपचारमा केन्द्रित हुनुपर्छ भन्ने मानसिकता बनाइसकेकी थिएँ । डाक्टरसँग परामर्श गर्दा अबको छ महिनासम्म काठमाडौँ उपत्यका छाड्न नमिल्ने, उपचार सुरु गरिहाल्नु पर्ने बताउनु भयो । विभिन्न परीक्षण गर्नु स्वभाविकै थियो युद्धस्तरमा परीक्षणहरु हुँदै गए । चैत्र महिनाको २२ गते अपरेसनको दिन तोकियो । आखिरमा अपरेसनको दिन पनि आयो । मान्छेको जीवनमा जेजस्ता कुराहरु आइलागे पनि त्यसको सामना गर्नै पर्दो रहेछ भन्ने ज्ञान पनि यो बेला स्पष्ट भयो । अपरेसन भयो । सर्जरीको एक महिना पछिबाट केमोथेरापी सुरु भयो । यो बेला धेरै कष्टहुन्थ्या,े सहनु बाहेक अरु उपाय पनि थिएन ।
यो बेला आफूले पढेको गिद्धको कथा याद आउँथ्यो । एउटा बूढो गिद्धले ४० वर्ष पार गरेपछि आफनो सरिरको प्वाँख चुच्चोले तानीतानी फालेर अर्को नयाँ प्वाँख पलाएझै आफनो उमेरको झण्डै ४५ वर्षमा यो कष्टपूर्ण दिन बिताउनु परे झैं लाग्थ्यो । मैले पनि केमोथेरापीको माध्यमबाट सरिरका सम्पूर्ण खराब सेलहरु मारेर स्वस्थ्य सेलहरुको निर्माण गर्नु छ भन्ने सोच्थेँ । यही सोचाइले होला केमोथेरापीको समयमा मलाई जति नै गाह्रो भएपनि मेरो आत्मबलमा कहिल्यै कमी आएन । बाइस दिनको फरकमा चार साइकल केमोथेरापी गरियो । त्यसपछि एक महिनाको आराम अनि उन्नाइस साइकल रेडिएसन गरियो । यसरी २०७९ सालको भदौ महिनामा मेरो पुरै उपचार सकियो । उपचार अवधिभर मैले झापा घरमा आउने र नियमित विद्यालय जाने क्रम जारी नै राखेँ । उपचार सकेर झापा फर्किएको समयमा भदौ महिनाको कडा घाममा रेडिएसनले डढेको शरीरमा कपडा लगाउन सक्ने अवस्था थिएन ।
म बाहिर निस्किएको समयमा कपडा लगाउने नत्र एउटा पातलो सल मात्र ओडेर बस्ने गर्थें । शरीर मोटाएर भएका कुनै लुगा ठिक हँुदैनथे । कपडा लगाउँदा पनि शरीरमा नछुने ठूलो ठूलो लगाउन पथ्र्यो । यसो हेर्दा अर्काको मागेर लाएजस्तोे हुन्थ्यो । टाउकोमा कपाल थिएन, आँखीभौं र परेला केही थिएन । झट्ट हेर्दा नानीहरु तर्सिने खालको रुप थियो मेरो । विद्यालय जाँदा साना सानानानीहरु चिण्डे म्याम भन्थे । कोही नजिक आउन डराउँथे । बिहान बेलुकी बाटोमा निस्किएको बेला मानिसहरु टक्क अडिएर हेर्ने र अलिक पर गएर खासखुस गर्ने गर्थे । उनीहरुले मलाई बिचरा भने जस्तो लाग्थ्यो । उपचार पछिपनि म डाक्टरले भनेको समयमा नियमित रुपमा फलोअपको लागि जाने गर्छु । उपचारको १५/१६ महिनासम्म मेरो शरीरमा रेडिएसन र केमोथेरापीका असरहरु देखिइ नै रहे । कतिपय समस्याहरु डाक्टरले परामर्शको बेलामा पनि नभन्नु भएको जस्तो देखिए जस्तै आँखा सुख्खा हुने, चिलाउने, जीउ दुख्ने, पोल्ने, शारीरिक थकान, डिप्रेस हुने आदि लक्षणहरु बारबार देखिइ रहन्थे । यस्तो अवस्थामा बिरामी आफैंले आत्मबल दह्रो बनाउँनु पर्दो रहेछ ।
उपचार सकेर फर्किएपछि नै मैले विद्यालयमा अध्यापन कार्य जारी राखें । सुरु सुरुमा मलाई छातिदुख्ने, घाँटीदुख्ने, बोल्दाबोल्दै सास रोकिने, रिङ्गटालाग्ने आदिजस्ता समस्याहरु भइ नै रहे । विद्यालयमा विभिन्न परिवेशबाट आएका बालबालिकाहरु बीच घुलमिल हुनु पर्दा संक्रमणको जोखिम पनि त्यतिकै थियो । मैले यो अवधिमा धेरै नै सावधानी अपनाएर काम गरें । अध्यापनको क्रममा मलाई गाह्रो हुँदा म विद्यार्थीहरुलाई भन्ने गर्थें । पछिपछि त उनीहरु आफैंले मलाई गाह्रो भएको बुझ्थे अनि म्याम बसेर पढाउनु भन्थे । अन्य समयमा हल्ला गर्ने बच्चाहरु मेरो कक्षामा शान्त बसिदिन्थे । विद्यालयमा मलाई असहज भएको समयमा आराम गर्न पाउने व्यवस्था मिलाइएको थियो । यसका लागि म मेरो विद्यालयका प्र.अ., सहकर्मी शिक्षकहरु, वि.व्य.स.का पदाधिकारीहरु, विद्यार्थी तथा सम्पूर्ण अभिभावकप्रति कृतज्ञ छु । त्यस्तै मेरा अग्रज तथा शुभचिन्तक जसले मलाई सधैं हौसला र हिम्मत दिनुभयो, मेरा परिवारका सदस्यहरुले देखाउनु भएको माया र सहयोग, श्रीमान्ले गर्नुभएको रेखदेख र स्याहार सुसार, छोराहरुले देखाएको धैर्यता र जिम्मेवारी बोधका साथै उनीहरुले प्राप्त गरेको उपलब्धि र मैले उपचार अवधिभित्र प्राप्त गरेको पवित्रा भेषराज स्मृति प्रतिष्ठान झापाबाट उत्कृष्ट वर्ष शिक्षक पुरस्कार र पी.पी.प्रसाई फाउण्डेसन काठमाण्डौबाट प्राप्त राष्ट्रिय पुरस्कार र प्रशंसाहरुले मलाई चाँडो ठिक हुनमा उर्जा मिलेको थियो । यसका लागि म सबैप्रति आभार व्यक्त गर्दछु ।
यो दुई वर्षको अवधि मेरा लागि कष्टकर रुपमा रह्यो भने केही सिक्ने उपलब्धिमूलक अवधिको रुपमा पनि रह्यो । मैले यो अवधिमा आफू समकक्षीहरु भन्दा कमजोर हुन नपरोस् भनेर विभिन्न पुस्तकहरु पढ्ने, आफूलाई अपडेट राख्ने, विभिन्न संस्थाहरुले गराएका तालिम जस्तै नेल्टाद्धारा आयोजित अग्रेजी शिक्षक सम्बन्धी, काठमाडौंमा आयोजित ग्रेट एक्स्पेक्टेसन तालिम, एम्नेस्टी इन्टरनेशनल नेपालद्धारा घोराही, दाङमा आयाजित कार्यक्रम, मेचीनगर लेडि जेसिजको विभिन्न गतिविधिहरुमा सहभागी हुने, आफूलाई स्वस्थ्य र सक्रिय राख्न दैनिक हिँडाइ, योगाभ्यास साधना तथा आराम र खानपानमा ध्यान दिइ रहेकी हुन्छु । घरका प्रायः सबै घरायसी काम गर्न सक्ने साथै विद्यालयमा अरु सहकर्मीहरु सरह कार्य गर्न सक्ने भएकी छु । यो बीचमा सुनेका अडियो बुकहरु र पढेका पुस्तकहरुले मलाई धेरै कुराहरु सिकाएको छ, आफूलाई खुशी राख्ने र जीवन जीउने नयाँ सोचका साथै हरेक घटना परिघटना तथा व्यवहार र समाजलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ भने मेरो आत्मबल अझ मजबूत बनेको छ । यसरी घातक तथा मृत्यु सरह मानिने क्यान्सर रोगलाई समेत परास्त गरी पहिले झै जीवन जीउन सकिने रहेछ भन्ने विश्वास बढेको छ ।
लेखक चापागाईं आदर्श मावि मेचीनगर–८, इटाभट्टा झापामा कार्यरत शिक्षक हुनुहुन्छ ।