काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट संयुक्त उम्मेदवार घोषणा गरिएको छ ।
प्रगतिशील - समाजवादी प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार सन्तोष आचार्यको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको हो ।
प्यानलको तर्फबाट उपाध्यक्ष र सचिवमा वर्तमान उपाध्यक्ष गोविन्द गिरी र सचिव दिलीपजंग सुब्बाले उम्मेदवारी दिएर पुन: चुनावी मैदानमा आएका छन् ।
कोषाध्यक्षमा बिमला तामाङको उम्मेदवारी घोषणा भएको छ ।त्यसैगरी इकाइगत सदस्यहरुमा तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले उम्मेदवार छन् ।
खुल्ला महिला सदस्यतर्फ मीरा कार्की र इन्दिरा बुढाथोकी कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै लेखा समिति संयोजकमा विकेन्द्र धिमाल, सदस्यहरुमा जश्ना राजवंशी र बालकुमार भुजेल रहेका छन् ।
सोअवसरमा खानेपानी वर्तमान अध्यक्ष राजकुमार पराजुली, अध्यक्षका उम्मेद्वार आचार्य, जसपा नेता धनप्रसाद गुरुङ, केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाईं , केन्द्रीय सदस्यहरु मीना पोख्रेल उप्रेती, रवीन कोइरालालगायतले उम्मेदवारको पक्षमा बोलेका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् काँकरभिट्टा खानेपानी संस्थाका सचिव दिलीपजंग सुब्बाले स्वागत गरेको कार्यक्रमको अध्यक्षता श्रीप्रसाद मैनाली र संचालन भुपाल शिवाकोटीले गरेका थिए ।
खानेपानीको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते शनिबार निर्वाचन हुँदैछ । यस अघि नेपाली काँग्रेससहितका ५ दलको तर्फबाट रोहित बुढाथोकीको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलबाट उम्मेदवार घोषणा भइसकेको छ ।