इटाभट्टा । मेचीनगरका सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता तालिम सुरु भएको छ ।
मेचीनगर सञ्चार प्रतिष्ठानले नगरपालिकाको सभाहलमा आयोजना गरेको तालिममा मेचीनगरका ३० बढी सञ्चारकर्मी सहभागी छन् ।
शनिबार तालिमको उद्घाटनको अवसरमा बोल्दै नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगरले पहिलो पटक नगरका सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता सम्बन्धी तालिम संचालन गरेको बताए ।
वडा नम्बर ७ अध्यक्ष प्रह्लादमणि ओलीले नगरपालिकाले जनताको आवाज बाहिर ल्याउने सञ्चारकर्मीहरुका लागि लगानी गर्नुपर्ने बताए । उनले नगरले कोषनै बनाएर मिडियाकर्मीहरुका लागि छुट्याउनु पर्ने बताए ।
प्रमुख अतिथि नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले मिडियाकर्मीहरुमा एकद्वार प्रणालीबाट जान सञ्चार प्रतिष्ठान गठन गरिएको बताइन् ।
उनले पत्रकारहरुले पहुँचको आधारमा विज्ञापन र सेवा सुबिधा पाउने अवस्थाको अन्त्य गर्न प्रतिष्ठानको परिकल्पना गरिएको बताइन् ।
प्रतिष्ठानलाई पत्रकारहरुको महत्वपूर्ण अभिभावक बनेर नगरपालिका समक्ष प्रस्तुत हुन उपप्रमुख उप्रेतीले आग्रह गरिन् ।
उपप्रमुख उप्रेतीले पछिल्लो समय सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्नबाट नगरपालिका चुकेको बताइन् । उनले नगरपालिकाको तर्फबाट पत्रकारहरुसँग पर्याप्त छलफल नभएकोमा आफुलाई पीडा बोध भएको बताईन् ।
दुई दिनसम्म चल्ने तालिमलाई गणेश पोख्रेल, मोहन काजी र ज्ञानेन्द्र निरौलाले सहजीकरण गरिरहेका छन् ।
प्रतिष्ठान अध्यक्ष शिशिर चम्लगाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत सदस्य झुलन रेग्मी र संचालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।