इटाभट्टा । सेनिटरी प्याड तथा पोषण सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम मेचीनगरमा सम्पन्न भएको छ ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय नर्सहरू माझ समीक्षा कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।
शाखा प्रमुख सापकोटाले नेपालको सन्दर्भमा रक्त अल्पताको मुख्य कारण जुकाको सङ्क्रमण र आइरनको कमीको रुपमा देखिएको बताइन् ।
उनले १० देखि १९ वर्षका किशोरीहरूलाई विद्यालयमा वितरण गर्दै आइरहेको आइरन चक्की वितरण कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
सोअवसरमा विद्यालयमा आइरन चक्की वितरणको अवस्था र चुनौतीका विषयमा समेत छलफल तथा सुझाव संकलन गरिएको थियो।
२०७९ साल माघबाट सुरु भएको कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत १० देखि १९ वर्षका किशोरीहरूलाई रक्त अल्पताको कमी नहोस् भनेर औषधि वितरण गरिँदै आइएको छ।
यसैबीच आर्थिक वर्ष २०७९/८० मा विद्यालयहरुमा वितरण गरिएको सेनेटरी प्याडको सम्बन्धमा प्रयोगकर्ताहरूबाट आएको पृष्ठपोषण सम्बन्धी छलफल कार्यक्रम पनि सम्पन्न भएको थियो।
सो कार्यक्रमको सहजीकरण मेचीनगर शिक्षा अधिकृत पवित्रा ढकालले गरेकी थिइन् ।
मेचीनगर-८, स्थित आदर्श माविको सभाहलमा भएको कार्यक्रममा मेचीनगरका २७ शिक्षकहरू सहभागी थिए । कार्यक्रममा सहभागीको तर्फबाट खिना न्यौपानेले बोलेकी थिइन् ।