बुद्धशान्ति । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न हतारो नरहेको बताएका छन् । दुई दिने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा चैत्र २३ गते झापा आएका थिए ।
मंगलवार शहीद यामबहादुर आचार्यको सालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले अन्य पार्टीसँग सहमति बिना प्रधानमन्त्री हुने अवस्था नरहेको जिकिर गरे ।
राष्ट्रिय राजनीतिको विषयमा खासै केही नबोलेका सभापति देउवाले अहिलेको सरकार केपी शर्मा ओली नेतृत्वको रहेको भन्दै उनले प्रधानमन्त्री बन्नुपर्छ भन्ने दवाव भने आएको वताए । सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ भने, अन्य दलसँग पछि धोका नदिने सर्तमा सत्ता सम्हाल्न सकिने बताए । आसन्न निर्वाचनबारे बोल्दै, उनले भने,‘अघिल्लो निर्वाचनमा बेहोरेको हारबाट पाठ सिक्दैं,पार्टी एक हुन कुनै पनि शक्तिले हल्लाउन सक्दैन् । नयाँ सिराबाट अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सुझाव दिए ।’
शहीद याम आचार्यको सामाजिक र राजनैतिक योगदानको चर्चा गर्दै उनले अबको निर्वाचनमा बहुमतसहितको जीतको सरकारले शहीद आचार्यको सपना पुरा गर्नतर्फ लाग्ने बताए । सभापति देउवाले पार्टीका कार्यकर्तालाई परिवारको बेदना र आगामी दिनमा गर्न सकिने सहयोगमा ध्यान पुर्याउन नेता, कार्यकर्तालाई आग्रह गरे ।
मंगलवार नै देउवाले बुद्धशान्ति गाउँ समितिको नवनिर्मित भवनको उद्घाटन गरिसकेपछि शहीद याम आचार्यको सालिक अनावरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले तत्कालिन द्धन्दकालमा माओवादीले हत्या गरेका याम आचार्यको स्मरण गरे । अहिलेको सरकार बोल्ने बढी काम कम भएका कारण दुई तिहाईको सरकार टुक्रिएको बताए । काम गर्ने समयमा आन्तरीक कलहमा गुज्रिएका उनीहरु अहिले संकट उन्मुख छन्, यस संकटबाट जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।
लोकतन्त्र र लोकतान्त्रिक ब्यवस्थालाई ओली सरकारले खिल्ली उडाएका कारण देशको राजनितिक अवस्था धरापमा परेको टिप्पणी गरे । ओली सरकारको कामले जनता आजित भएको भन्दै सिटौलाले अबको राजनितिक निकास कांग्रेसबाट मात्र सम्भव हुने दावी गरे ।
कार्यक्रममा युवा नेता तथा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तामा रहेकाहरु अहिले आत्तिएको बताए । देउवाले प्रधानमन्त्री बन्न कांग्रेसलाई चिठी लेख्न थालिसकेको बताए । उनले भने,“सरकारमा जान सकिन्छ, तर हतारो भने छैन् ।
सहमतिय ढंगले मात्र कांग्रेस सरकारमा जान्छ ।” प्रवक्ता शर्माले शहीद याम आचार्यको सामाजिक योगदानको कदर गर्नुपर्नेमा जोड दिए । कार्यक्रमा कांग्रेस नेता डिल्ली सिटौला, कांग्रेस केन्द्रीय सदस्य गोपाल बस्नेत, दिलिप राई, संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाई लगायतले शहीद याम आचार्यको सामाजिक र राजनैतिक योगदानको चर्चासंगै राष्ट्रिय राजनितिका विषयमा मन्तब्य राखेका थिए ।
शहीद यामबहादुर आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बुद्धशान्ति गाउँसमितिको कार्यालय भएको जग्गा उपलब्ध गराएका बुद्धशान्ति गाउँपालिका अध्यक्ष तथा साविक बुधवारेका पूर्व सभापति रमेशकुमार भुजेललाई सम्मान-पत्रसहित सम्मानित गरियो ।
त्यस्तै, प्रतिष्ठानले मेचीनगर नगरपालिकालाई पनि सम्मान गरेको छ । सोही कार्यक्रममा स्व.लोकनाथ खतिवडाको स्मृतिमा स्थापित नबोल्ने बा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको २०७८ सालको क्यालेण्डर सभापति देउवा र पूर्व महामन्त्री सिटौलाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
जिल्ला र अन्य छिमेकी जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शहीद याम आचार्यको वारेमा र प्रतिष्ठानको विषयमा जानकारी गराएका छन् ।
झापा जिल्ला निर्वाचन क्षेत्र न.१ का सभापति मणी उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला निर्वाचन क्षेत्र न.२ (ख) का सभापति खगेन्द्र मैनालीले गरेका थिए ।