इटाभट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको दोस्रो छनौटबाट उत्कृष्ट ५ प्रतियोगी फाइनलमा प्रवेश गरेका छन् ।
दलित समन्वय समिति मेचीनगरको आयोजनामा भईरहेको प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो दिनको छनौट चरणबाट उत्कृष्ट ५ प्रतियोगी फाइनल प्रवेश गरेका हुन् ।
सोमबार आदर्श माविको सभाहलमा सम्पन्न छनौट चरणबाट धुलाबारी माविका दिब्या राय र सुदिप आचार्य, तारापुन्ज अंग्रेजी मावि काँकरभिट्टाकी प्रितिका आचार्य, आदर्श मावि इटाभट्टाका दिपेश राउत तथा पशुपति अंग्रेजी मावि काँकरभिट्टाकी स्नेहा खड्का फाइनलमा प्रवेश गरेका हुन् ।
सोमबारको छनौटमा १३ विद्यालयका २५ प्रतिस्पर्धी सहभागी थिए । सहभागी संख्याको आधारमा अनुपात निर्धारण गर्दै ५ जनालाई फाइनलमा लगिएको आयोजकले जानकारी दिएको छ ।
भोलि हुने अन्तिम दिनको छनौटबाट थप उत्कृष्ट ३ जना फाइनल प्रवेश गर्ने छन् ।
फाइनल प्रवेश गरेका प्रतियोगीहरुले विजेता बन्न अब बुधबार अन्तिम प्रस्तुति दिनेछन् । यसअघि आइतबार भएको पहिलो चरणको छनौटबाट ३ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरि सकेका छन् ।
प्रतियोगिताको निर्णायकमा प्राध्यापक प्रेम सागर घिमिरे, पूर्व शिक्षक राजकुमार श्रीवाल तथा संचारकर्मी शुस्मा राजवंशी रहेका थिए ।
सोअवसरमा प्रमुख अतिथि वडा नं ८ अध्यक्ष गिरीराज धमला, एमिटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराई, संस्थाकी उपाध्यक्ष लक्ष्मी परियारलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाकी अध्यक्ष रिता परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाकी सचिव कबिता मिजार र संचालन विद्यालयका शिक्षक जीआर धितालले गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार १२५, ७ हजार १२५ तथा ५ हजार २५० तथा प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकका वरिष्ठ उपाध्यक्ष टोलबहादुर सुनुवार नारायणले बताए ।