बाहुण्डाँगी । मेचीनगर-२, स्थित भानु माध्यमिक विद्यालयको प्रधानाध्यापकमा खड्गकुमारी तिम्सिना नियुक्त भएकी छिन् । तिम्सिना विद्यालयको मावि तहमा सामाजिक विषय समूहअन्तर्गत अर्थशास्त्र विषय शिक्षकको रुपमा कार्यरत थिइन् ।
आउँदो भदौमा अनिवार्य अवकाश हुन लागेका विद्यालयका निवर्तमान प्रअ देवेन्द्र खनालले आर्थिक वर्षको सुरुवातमानै प्रअको जिम्मेवारी प्रदान गर्ने आशय व्यक्त गरेपछि विद्यालय व्यवस्थापन समितिले तिम्सिनालाई प्रअमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
तिम्सिनालाई साउन १ गतेबाट लागू हुने गरी प्रअमा नियुक्त गरेको बताइएको छ ।
वि.स. २०६७ सालमा वीर अम्मरसिंह मावि चारपानेबाट शिक्षण सेवा सुरु गरेकी तिम्सिना २०७१ सालमा भानु माविमा माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षकको रुपमा नियुक्ति लिएकी थिइन् ।
तिम्सिनालाई आफ्नै विद्यालयमा एक दशक लामो शिक्षण अनुभवपछि प्रअको रुपमा नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।
बिहीबार विद्यालय प्रशासनले औपचारिक कार्यक्रमका बीच प्रअमा नियुक्ति दिएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोम बन, वडा नं २ का अध्यक्ष दिपक बराललगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
विद्यार्थी संख्या कम भइ रहेको चुनौतीका बीच आफुलाई अवसर प्राप्त भएको तिम्सिनाले प्रतिक्रिया दिइन् । सबै शिक्षक, कर्मचारी, व्यिव्यस, शिक्षक अभिभावक संघलगायत सरोकारवाला सबैको सहयोगमा चुनौतीलाई अवसरको रुपमा बदल्ने गरी काम गर्ने आफुले विश्वास लिएको नवनियुक्त प्रअ तिम्सिनाले बताईन् ।
विद्यालय पूर्व प्राथमिक तह, बाल कक्षादेखि कक्षा १२ सम्म संचालन हुँदै आएको छ ।