मेचीनगर । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण सोमबार निधन भएको छ ।
५२ बर्षीय खाम्याहाङलाई वैशाख ९ गते गरिएको परीक्षणमा एन्टिजिन पोजेटिभ देखिएको अर्जुनधारा नगरपालिकाका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।
गत वैशाख ६ गते भारतीय दुतावासमार्फत नगरपालिकालाई प्राप्त भएको एम्बुलेन्स बुझ्नका लागि उनी काठमााण्डौ गएको नगरपालिका सूचना अधिकारी हिमराज सेडाईले जानकारी दिए ।
काठमाण्डौबाट फर्कीएकै दिन उनको एन्टिजिन परीक्षण गरिएको थियो । वैशाख ९ गते उनी प्लेनमार्फत भद्रपुर उत्रीएपछि आफैले गाडि कुदाएर नगरपालिका आएका थिए ।
एन्टिजिन पोजेटिभ देखिएको प्रारम्भीक चरणमा आफ्नो क्वाटरमा एक्लै बसेका उनलाई स्वास्थ्य शाखाको अनुरोधमा नगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीको आइसोलेसन सेन्टरमा राखिएको थियो ।
स्वासप्रश्वासमा समस्या देखिपछि उनलाई वैशाख १६ गते थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी भर्ना गरिएको थियो । बिएण्डसीमा उपचारको क्रममा पिसीआर परीक्षण गर्दा उनको पाँच पटकसम्म परीक्षण पोजेटिभ आएको बताइएको छ ।
सामान्य अवस्थाकै बीच सुरु भएको उनको उपचार सेवा, आइसीयू, भेन्टिलेटर हुँदै अवस्था गम्भीर बनेपछि तीन दिन अघिदेखि उनलाई डिप भेन्टिलेटरमा राखिएको फोकल पर्सन बस्नेतल जानकारी दिए ।
सोमबार दिउसो २ः३० बजे निधन भएका खाम्याहाङको अन्तिम संस्कार परिवारको उपस्थितिमा धरानमा मंगलबार गरिने नगरपालिका सूचना अधिकारी सेडाईले जानकारी दिए । उनका आमा, श्रीमती, एक छोेरा र छोरी छन् ।
निजामती सेवामा अब्बल थिए खाम्याहाङ
वि.स. २०२६ सालमा संखुवासभाको धर्मादेवी नगरपालिकामा जन्मिएका खाम्याहाङले २४ बर्षको उमेरमा २०५० सालमा नेपाल सरकारको शिक्षा प्रशासनतर्फ प्राविधिक सहायकबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
हाल उनी कार्यरत रहको अर्जुनधारा नगरपाकिलाका प्रशासन अधिकृत चुडामणी निरौलाले दिएको जानकारीमा उनी तेह्रथुम जिल्लाको तात्कालिन जिल्ला शिक्षा कार्यालयमा पहिलो पटक राष्ट्र सेवक कर्मचारीको रुपमा हाजिर भएका थिए ।
९ बर्ष पछि खुला परीक्षामार्फत उनी २०५९ सालमा नेपाल सरकारको अधिकृत बने । तात्कालिन जनकपुर नगरपालिकाबाट अधिकृतस्तरको सेवा सुरु गरेका उनी खोटाङ, धनकुटा हुँदै इलाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका थिए ।
वि.स. २०७५ असोजबाट मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा २ बर्षसम्म उनी कार्यरत रहेका थिए ।
२०७७ असोज १८ गते झापाकै अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उनी अर्जुनधारामा आफ्नो सेवा अवधिको सातौं महिनामा थिए ।
अलग पहिचानका साथ काम गर्न रुचाउने उनले मेचीनगर नगरपालिका रहँदा अविस्मरणीय योगदान दिएको मेचीनगर नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।
खाम्याहाङको नेतृृत्वमा मेचीनगरमा निजामती र स्थानीय निकायमार्फतका कर्मचारी समायोजन, नगरपालिकाको कानुनलाई राजपत्रमा प्रकाशन जस्ता महत्वपूर्ण कार्यहरु गर्दै नगरपालिकाको इतिहासमा आफ्नो नाम लेखाइसकेको वस्तीले बताए ।
निडर र हाक्कि स्वभावका खाम्याहाङले राष्ट्र सेवामा कुशल प्रशासकको रुपमा छवी बनाएका थिए ।