काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको थप एक ओभरहेड ट्याङ्की बन्ने भएको छ ।
मेचीनगर-६, स्थित रमाइलो गाउँमा निर्माण हुने सो ट्याङ्कीको बुधबार शिलान्यास गरिएको छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, वडाध्यक्षहरु ललितबहादुर तामाङ, गिरीराज धमला, इप्रका काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामा, धुलाबारी खानेपानीका अध्यक्ष धनकाजी खत्री, बाहुण्डाँगी खानेपानी अध्यक्ष सनदकुमार अधिकारी, नेकपा एमाले नगर अध्यक्ष राजु कार्की, राप्रपा नगर अध्यक्ष होम विष्ट, पूर्व अध्यक्षहरु सूर्यप्रकाश उप्रेती, धनप्रसाद गुरुङ, संस्थाका पदाधिकारीलगायत आम उपभोक्ता सहभागी थिए ।
शिलान्यास पछि बोल्दै नगर प्रमुख बुढाथोकीले स्वयम् सेवा गर्ने ठाउँमा समेत राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको बताउँदै स्थापित भएको प्रणालीलाई निरन्तरता दिन नयाँ समिति उपभोक्ताको सेवामा हाजिर भएको बताए । बुढाथोकीले नयाँ समिति आएसँगै योजनाका कामले द्रुतता पाएको बताए ।
काँकरभिट्टा खानेपानी सहलगानी आयोजना अन्तर्गत निर्माण सुरु भएको ट्याङ्की २ लाख २५ हजार लिटर क्षमताको रहेको छ ।
काँकरभिट्टा खानेपानीकै ४ लाख ५० हजार लिटर क्षमताको अर्को ओभरहेड ट्याङ्की निर्माणाधिन अवस्थामा रहेको संस्थाका अध्यक्ष रोहित बुढाथोकीले बताए । उनले आफ्ना उपभोक्तालाई पानी अभाव हुन नदिन संस्थाले निरन्तर काम गरिरहेको बताए ।
उद्घाटन भएको ट्याङ्कीको निर्माण अवधी ३० महिनाका लागि भएपनि १२ महिना भित्रमा काम सम्पन्न हुने विश्वास लिएको कार्यालय प्रमुख दिपक पोखरेलले बताए ।
पोख्रेलले हाल ८ हजार घर धुरीमा समेत पानी उपलब्ध गराउन गाह्रो भइरहेको अवस्थामा मेचीनगर-५ र हाल निर्माण भइ रहेको ट्याङ्की निर्माण भए पश्चात पानीको अभाव नहुने बताए ।
मेचीनगर-५ र मेचीनर-६ मा निर्माण भइरहेका २ वटा ओभरहेड ट्याङ्कीको कुल लागत १० करोड ४८ लाख रुपैयाँ रहेको बताइएको छ । जसमा संस्था र संघीय सरकारको संयुक्त बजेट सामेल छ ।
संस्था अध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमका सहभागीलाई उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव विशाल तामाङले गरेका थिए ।