मेचीनगर । सामुदायिक वन दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ ।
झापामा रहेका विभिन्न ९ वटा सामुदायिक वन स्थानीय उपभोक्ता महासंघले पालिकास्तरमा कार्यक्रम संचालन गरिरहेका हुन् । वन महासंघले विद्यार्थीमार्फत आफ्नो कार्यक्रम विस्तार गरिरहेको छ ।
सोही अवसरमा सामुदायिक वन स्थानीय उपभोक्ता महासंघ मेचीनगरले बुधबार विद्यालयस्तरीय वक्तृता प्रतियोगिता सम्पन्न गर्यो ।
मेचीनगर-१३, स्थित हातेमालो सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा नगरका १० विद्यालय सहभागी थिए ।
प्रतियोगिताअन्तर्गत बुधबारको छनौटमा उत्कृष्ट स्थान प्राप्त गर्ने ३ प्रतियोगीलाई पुरस्कृत गरियो ।
प्रथम हुने धुलाबारी माविकी दिब्या राय, द्वित्तीय हुने पारिजात पब्लिक स्कुलकी जयन्ती बुढाथोकी र तृतीय हुने सरस्वती बालक्याणकी दिम्येस्वरी भट्टराईलाई क्रमशः नगद १/१ हजार र ५ सय रुपैयाँले पुरस्कृत गरियो ।
विजेतालाई सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौला, झापा अध्यक्ष बेदप्रकाश भण्डारी, नगर अध्यक्ष जानुका ओलीलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको निर्णायकमा प्राध्यापक प्रेमसागर घिमिरे, डिभिजन बन कार्यालय झापाका अधिकृत डिल्लीराम खरेल र संचारकर्मी राजकुमार ओली रहेका थिए ।
छनौटमा परेका ३ विद्यार्थीले २५ गते शुक्रबार जिल्लास्तरमा हुने प्रतियोगिताको फाइनल चरणमा सहभागी बन्ने महासंघ झापा अध्यक्ष भण्डारीले बताए । भण्डारीका अनुसार पालिका महासंघमार्फत छनौट भएका १८ जना प्रतिस्पर्धीबीच फाइनल चरणमा स्पर्धा हुनेछ ।
कार्यक्रमको सन्दर्भमा बोल्दै महासंघ मेचीनगर अध्यक्ष ओलीले सरकारले गर्ने काम सामुदायिक बनले गरिरहेको दावी गरिन् ।
जिल्ला वन महासंघ झापा अध्यक्ष भण्डारीले सरकरले काम गर्न नसकेको सामुदायिक बनले टुलुटुलु हेर्न नसकेर शिक्षा, स्वास्थ्यलगायत आम क्षेत्रमा लगानी गरिरहेको बताए ।
उनले अहिलेको समयमा नागरिकलाई आत्मनिर्भर बनाउन सामुदायिक बनको भूमिका अपरिहार्य रहेको बताए । उनले आगामी वर्ष शिक्षकहरु बीचमा वक्तृता प्रतियोगिता संचालन गर्ने उद्घोष गरे ।
वडाध्यक्ष कृष्ण सिग्देलले हातेमालो बन क्षेत्रमा ३२ बिगाहा क्षेत्रफलमा निचाझोडा ताल निर्माण गर्ने अभियानमा आफू योजनासहित लागि परेको तर, सरोकारवाला निकायबाट असहयोग भएको दुखेसो गरे । उनले हामीले हाम्रा प्राकृतिक सम्पदाको पहिचान गर्न नसकेको बताए ।
मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले विकास बहुआयामिक हुने बताउँदै एकलौटीरुपमा कसैले विकास गर्न नसक्ने र सोका लागि सामुदायिक क्षेत्र र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
प्रमुझ अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विगतमा शून्य अवस्थामा पुगेका बनहरुले स्वरुप फेर्दै गएको बताए । उनले सामुदायिक बनले जंगलको रोकथाम र पर्यावरण जोगाउन महत्त्वपूर्ण रहेको बताए ।
बुढाथोकीले मेचीनगर क्षेत्रलाई हरित क्षेत्रको रुपमा घोषणा गर्दा पनि फरक नपर्ने भन्दै मेचीनगरलाई प्राकृतिले नै सुन्दररुपमा व्यवस्थापन गरिदिएको बताए । उनले सबै सामुदायिक बनमा बेल, अमला जस्ता बनस्पति रोपेर उत्पादनसँग जोडेर लैजान आग्रह गरे ।
महासंघ अध्यक्ष ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष यमाकान्त प्याकुरेल र संचालन महासचिव खेमराज राई र सचिव युवराज रेग्मीले गरेका थिए ।