कचनकवल । राष्ट्रिय शिक्षा दिवस २०८१ अन्तर्गत कचनकवल–३, स्थित मोती माविले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार विद्यालय परिसरमा विद्यालयको मञ्च हस्तान्तरण, दाता, अभिभावक–शिक्षक सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको विद्यालयका प्रअ छविलाल बस्नेतले बताए ।
विद्यालयले भर्खरै आफ्नै पहलमा मञ्च निर्माण गरेको थियो । जसमा विद्यालयका प्रअ, शिक्षक, विव्यस तथा शुभेच्छुकको सहयोगमा १ लाख ५१ हजारमा तयार गरिएको नवनिर्मित मञ्च बुधबार हस्तान्तरण गरियो । दाताहरुलाई दोसल्ला एवम् प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
सोही अवसरमा दीर्घ सेवा पुरस्कारबाट विद्यालयमा लामो समयदेखि कार्यरत सहायक प्रअ तेजनारायण सिंह राजवंशीलाई सम्मान गरियो । त्यस्तै वर्ष उत्कृष्ट अभिभावकमा विना श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको थियो । जसमा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः कचनकवल विद्या मन्दिर, शिव मावि र पथरिया माविलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलगायतले पुरस्कृत तथा सम्मान गरे ।
सोही अवसरमा बालदिवसमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजेतालाईसमेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी, विशेष अतिथि शिक्षक महासंघ कचनकवल अध्यक्ष भैरवप्रसाद सिंह राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
झापाको दक्षिणी भेगमा अवस्थित मोती मावि विशेष गरी प्राविधिक धार अध्ययनका लागि विद्यार्थीको रोजाइमा पर्ने विद्यालयको रुपमा परिचित छ । विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९–१२ मा कृषिका विभिन्न विषयहरु अध्यापन हुँदै आइरहेका छन् । साधारण धारतर्फ बाल कक्षादेखि कक्षा १० सम्म सञ्चालित छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषलाल राजवंशीको सभापित्वमा सम्पन्न समारोहमा स्वागत प्रधानाध्यापक छविलाल बस्नेत र सञ्चालन सूचना अधिकारी शिक्षक शान्तकुमार ढुङ्गेलले गरेका थिए ।
तस्विरहरु : प्रिया न्यौपाने