मेचीनगर । मेचीनगर–८, सालघारीमा जनसहभागिताबाट मन्दिर निर्माण सम्पन्न भएको छ ।
सालघारीस्थित कञ्चनजङ्घा टोलमा गाउँवासी, शुभेच्छुक एवम् सामाजिक सहयोगबाट २० लाख बढी सहयोग सकंलन गरी मन्दिर निर्माण गरिएको आइतबार पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराइएको हो ।
मन्दिर निर्माण गर्न स्थानीय ८ नम्बर वडाबाट प्राप्त ५ लाख ९ हजारसहित २५ लाखबढी खर्च भएको नवदुर्गा मन्दिर निर्माण समिति अध्यक्ष कृष्ण सुवेदीले बताए । जसमा नगद तथा जिन्सी सामग्रीसमेत समावेश भएको सुवेदीले जानकारी दिए ।
मन्दिर निर्माणमा प्रमुख दाताको रुपमा टायल्स खरिदका लागि प्रेम घिमिरे/ दिपा पाण्डे घिमिरेबाट २ लाख २२ हजार २ सय २२, ग्रील तथा फलामका सामग्री व्यवस्थापनमा सुरेन्द्र सुवेदीबाट १ लाख २८ हजार ५ सय तथा मूर्ती खरिदका लागि भरत थापाबाट १ लाख १५ हजार २ सय प्राप्त भएको निर्माण समितिकी कोषाध्यक्ष हिरा गुरुङले जानकारी दिइन् ।
सामाजिक सञ्जालमा ‘सालघारी निर्माण अनलाइन समाज’ समूह निर्माण गरी मन्दिर बनाउन सबै एकजुट भएर लागेको निर्माण समिति सचिव विकास भट्टराईले सो अवसरमा बताए ।
मन्दिर परिसरमा अहिले पनि हरेक शनिबार स्थानीय भेला भएर श्रमदानमा जुट्ने गरेका छन् ।
२०३५ सालमा बाँसका भाटा प्रयोग गरेर मन्दिर स्थापना गरिएको स्थानीय अग्रज निलबहादुर घिमिरिले स्मरण गरे । अतीत सम्झँदै उनले भने, “सुरुमा ५ हजार रकम संकलन गरी मन्दिर निर्माण सुरु गरेका थियौं, अहिले यति राम्रो मन्दिर बनेकोमा खुशी लागेको छ ।” उनले थपे,‘सबैको चाँहना अझै राम्रो बनाउने छ, सकेको सहयोग गरिदिनुहोला ।’
पत्रकार भेटघाटको अवसरमा निर्माण समितिसँगै स्थानीय उपस्थित थिए ।
फूलपातीमा प्रसाईंले उद्घाटन गर्नेछन् मन्दिर :
मेचीनगर–८ मा निर्माण सम्पन्न भएको नवदुर्गा मन्दिरको फूलपातीको अवसर पारेर बिहीबार उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।
मन्दिरको उद्घाटन सामाजिक अभियन्ता दुर्गा प्रसाईंले गर्दैछन् । गैर राजनीतिक दृष्टिकोणले मन्दिरको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा प्रसाईंलाई आमन्त्रण गरिएको स्थानीय खिलप्रसाद घिमिरेले बताए ।
प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक हुन् ।
हाल मन्दिरमा नवदुर्गाको पाठ पारायण चलिरहेको छ । मन्दिरमा नियमित पुजाका लागि पुजारी व्यवस्थापन गर्ने सोच राखिएको सो अवसरमा जानकारी गराइएको छ । मन्दिर परिसर करिब २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
जग्गाका स्थानीय संरक्षक स्व. विष्णुप्रसाद तिम्सिनाले मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् ।