काँकरभिट्टा । झापाको अर्जुनधारास्थित शनिश्चरे माध्यमिक विद्यालयले आफ्नो विद्यालय गीत सार्वजनिक गरेको छ ।
दशैंको अवसर पारेर केही दिनअघि विद्यालयमा आयोजित पूर्व विद्यार्थी पूनर्मिलन समारोहमा विद्यालय गीत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द, संगीत र स्वर विद्यालयकै शिक्षक तथा विद्यार्थीहरुको रहेको छ ।
विद्यालयका शिक्षकद्वय वसन्त भट्टराई र पुण्यप्रसाद सुवेदीले शब्द सिर्जना गरेको गीतमा संगीत शिक्षक जीवन धितालको रहेको छ ।
शीर्ष गायनमा शिक्षक जीवन धितालसहित अर्का शिक्षक कवीन्द्र भण्डारी, विद्यार्थीहरु गुञ्जन दाहाल र दिया काफ्लेले स्वर भरेका छन् ।
सिलिगुडी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर ध्रुव शर्मा र मिक्स मास्टर सुधिरसिंह बराइली छन् ।
‘शनिश्चरे मावि हाम्रो अर्जुनधारा सान.......’ बोलको गीतमा विद्यालयका संस्थापक, दाता एवम् संरक्षकहरुलाई सम्वोधन गरिएको छ ।
विद्यालय स्थापनाको विगतदेखि वर्तमानसम्मका घटनाक्रम समेटिएकाले गीत विद्यालयको इतिहासको दस्तावेज बन्ने प्रधानाध्यापक विनोदकुमार गौतमले बताए ।
विद्यालयलाई यहाँसम्म ल्याइपु¥याउन योगदान दिने सबैलाई गीतमार्फत सम्झिएका छौं, विद्यालयको यो फरक अभ्यास पनि हो, ‘उनले भने, ‘ अब ऐतिहासिक तस्वीरहरु समेटेर भिडियोसमेत बनाउने योजना छ ।’
वि.सं. २००५ सालमा स्थापना भएको शनिश्चरे मावि झापाकै दोस्रो पुरानो स्कूल हो ।
अर्जुनधारा–८, स्थित शनिश्चरे बजार उत्तरमा अवस्थित विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्म हाल १ हजारबढी विद्यार्थी अध्ययनरत छन् ।
हेर्नुहोस् गीत :