मेचीनगर । मेचीनगरमा शनिबार फुड पोइजन भइ एक पुरुषको निधन भएको छ ।
मृत्यु हुनेमा मेचीनगर वडा नम्बर ९ खुट्टिडाँगीका ८२ बर्षीय बृहस्पती सुवेदी रहेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
उनको उपचारको क्रममा धुलावारीस्थित आम्दा अस्पतालमा शनिबार अपराह्न्न निधन भएको बताइएको छ ।
विहान खाना खाने क्रममा जंगलबाट टिपेर ल्याइएको मोरङ्गेको साग खाएपछि अचानक स्वास्थ्यमा समस्या देखिएको मृतकका नाती शिशिर ढकालले बताए ।
साग सेवन गरेका मृतक सुवेदीसंगै श्रीमती र छोरीलाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि आम्दा अस्पताल भर्ना गरिएको थियो ।
श्रीमती र छोरीको स्वास्थ्य अवस्था ठिक भएपनि सुवेदीको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ ।
उता परिवारले अस्पतालको लापरवाहीका कारण सुवेदीको ज्यान गएको आरोप लगाएको छ ।
‘हामीलाई अन्तिम अवस्थामा बिर्तामोड लैजान भनियो, मृतका नाती ढकालले भने,‘अक्सिजन लेबल ५ प्रतिशत पुगेपछि बल्ल अस्पतालले रेफर गर्यो, स्वास्थ्य उपकरणसमेत बिग्रीएको पाइयो, अस्पतालको गम्भीर लापरवाही छ । आइतबार सर्वपक्षीय छलफल पछि निर्णय गर्ने सहमती भएको छ ।’