झापा । पूर्व प्राथमिक तहमा सञ्चालन गरिने कक्षाहरु अब एक वर्षको मात्र हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो योजना प्रस्तुत गर्दै एक कक्षा पुग्नुअघि सञ्चालन गरिने अन्य अतिरिक्त कक्षाहरुको अवधि घटाउने नीति बनाएको जनाएको छ ।
केही दिनअघि शिक्षा मन्त्री विद्या भट्टराईले मन्त्रालयको सय दिने कार्यक्रम सार्वजनिक गर्दै सो योजना सुनाएकी हुन् ।
शिक्षा मन्त्री भट्टराईले आफ्नो एक सय दिनको प्रगति विवरणमा मन्टेश्वरीको नाममा कानुन विपरीत चार वर्षसम्म चलाइने कक्षालाई नियमन कसरी गर्ने भनेर सुझाव कार्यदल गठन गरेको जानकारी दिइन ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, राष्ट्रिय पाठ्यक्रम प्रारूप, शिक्षा नीति २०७६ मा मन्टेश्वरी (इसीडी) अर्थात प्रारम्भिक शिक्षा तथा बालविकास एक वर्षको मात्रै हुने व्यवस्था छ ।
निजी लगानीमा खुलेका संस्थाले मन्टेश्वरीको नाममा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी कक्षा चलाइरहेका छन् । सामुदायिक विद्यालयले पनि शुल्क लिएर तीनदेखि चार वर्षसम्म कक्षा चलाइरहेका छन् ।
इटालियन नागरिक मारिया मन्टेश्वरीले विकास गरी अभ्यासमा ल्याएको शैक्षिक पद्धतिको रुपमा रहेको मन्टेश्वरी कक्षाहरुलाई हाल विश्वभर चलाईंदैँ आइएको छ ।
यसको गुणस्तर कायम गर्न भने कमै मात्र शैक्षिक संस्थाहरु सक्षम भएको देखिएको छ । जसको नियमनमा सरकारको ध्यान जान जरुरी छ ।