झापा । नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले नेपाल सन्त, महात्माको तपस्याले प्राप्त गरेको गौरवको देश भएको बताएका छन् ।
शनिबार मेचीनगर–८, स्थित सालघारीमा नवदुर्गा मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्न आइपुगेका जगतगुरु देवाचार्यले नेपालमा पाइने जडीबुटी, झार जङ्गलनै सबै रोगको ओखती रहनु नेपालीको सौभाग्य रहेको उल्लेख गरे ।
उनले सहभागी भक्तहरुलाई नेताहरुको भाषण सुन्दासुन्दा वाक्क भएको बेला केही तथ्यहरु नेपाल देशका बारेमा सुन्न आग्रह गरेका थिए ।
५ हजार वर्ष अघि रचना गरिएको महाभारतमा नेपालको नाम अंकित गरिएको बताउँदै जगत गुरु देवाचार्यले त्रेता युगमा रचना गरिएको प्राचिन ग्रन्थ रामायणमा समेत नेपालका नदीहरुको वर्णन गरिएको बताए ।
भारतमा मान्दै आएका अयोध्या, मथुरा, माया, काँसी जस्ता ७ वटा पुरी भन्दा सर्वोच्च पुरी सिंगो देश नेपाल रहेको शिव महापुराणमा उल्लेख गरिएको बताउँदै उनले ब्रह्माण्डमा सबैभन्दा ठुलो विश्व प्रसिद्ध पुरीनै नेपाल देश रहेको बताए ।
उनले आफ्नै देश नेपाल पुरीमा बसेर अर्को पुरी खोज्न पैसा भेला गरी भारततर्फ दगुर्ने गरेको कटाक्षसमेत गरे ।
देवाचार्यले नेपालीहरुले देशका पवित्र स्थलहरुको पहिचान गर्न नसकेको दुखेसो गरे ।
विश्वमै सुखी देश नेपाल हो, दुःखको खोजीमा नेपालीहरु विदेशतिर भौतारी रहेका छौं, ‘उनले भने, ‘ सुख खोज्दै एकदिन विश्वका मानिस नेपाल आउने अवस्था बन्नेछ ।’
जगतगुरु देवाचार्यले प्रवचनको अधिकांश समयमा नेपाल देश र राष्ट्रियता सन्दर्भमा आफ्नो अभिव्यक्ति केन्द्रित गरेका थिए ।
सालघारीस्थित कञ्चनजङ्घा टोलमा गाउँवासी, शुभेच्छुक एवम् सामाजिक सहयोगबाट प्राप्त २० लाख तथा वडाबाट प्राप्त ५ लाख गरी कुल २५ लाखबढी आर्थिक लगानीमा भब्य मन्दिर निर्माण सम्पन्न भएको छ ।
समुद्घाटन समारोहमा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, संविधान सभा सदस्य रवीन कोइराला, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, पूर्व प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका निवर्तमान मेयर विमल आचार्य, वडाध्यक्ष गिरीराज धमला, संस्थापक हरिबहादुर सुवेदीलगायतले मन्तब्य राखेका थिए ।
सोही अवसरमा मन्दिरका संस्थापक, संरक्षक तथा दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
मन्दिर निर्माण समिति अध्यक्ष कृष्णबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निर्माण समिति सचिव विकास भट्टराई र सञ्चालन सञ्चारकर्मी जीआर धितालले गरेका थिए ।