झापा । जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा मेचीनगरकी हिमा राजवंशी प्रथम भएकी छिन् ।
कृषि ज्ञान केन्द्र, झापाले विश्व खाद्य दिवसको अवसरमा आयोजना गरेको ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य’ अधिकार विषयक निबन्ध लेखन प्रतियोगितामा राजवंशी जिल्लाभरमा सर्वोत्कृष्ट बनेकी हुन् ।
राजवंशी मेचीनगर–८, स्थित आदर्श माविमा कक्षा १० मा अध्ययनरत छिन् ।
त्यस्तै प्रतियोगितामा फूलबारी मावि बाह्रदशी–८ की शिवानी पोखरेल दोस्रो, महेन्द्र रत्न मावि कचनकवल–४ की नमिका गणेश तेस्रो तथा महेन्द्र रत्न मावि बिर्तामोड–३ की प्रस्तुती भट्टराई चौथो भइन ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ एवम् प्रमाण पत्र प्रदान गरे ।
सोमबार ज्ञान केन्द्र झापाको सभाहलमा सम्पन्न प्रतियोगितामा जिल्लाभरका १३ पालिकाबाट प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगितामा दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिका अनुपस्थित रहे ।
प्रतियोगिताको निर्णायकमा नेपाल सरकारका पूर्व उपसचिव उद्धव विष्ट रहेका थिए ।
कार्यालय प्रमुख सागर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृषि अधिकृत चेतराज भण्डारी र सञ्चालन कर्मचारी गणेशकुमार बुढाथोकीले गरेका थिए ।
हरेक वर्ष अक्टोबर १६ तारिकमा विश्व खाद्य दिवस मनाउने गरिन्छ । सोही सन्दर्भमा अक्टोबर महिनाभर विभिन्न कार्यक्रम गरी सो दिवस मनाइदैंछ ।
पछिल्लो समय मेचीनगरले जिल्लास्तरमा हुने प्रतियोगितामा वर्चश्व कायम गर्दै आइरहेको छ ।
यसअघि सामुदायिक बन महासंघ झापाले आयोजना गरेको वक्तृता प्रतियोगितामा समेत धुलावारी माविकी दिब्या राय प्रथम भएकी थिइन् ।
राय कोशी प्रदेशस्तरीय प्रतियोगिताको समेत विजेता हुन् ।
तस्बिरहरु : रुमा राजवंशी