झापा । क्यानडा र अष्ट्रेलियाले कडाई गरेपछि पछिल्लो समय विद्यार्थीको रोजाई बेलायत देखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा १३ हजार तीन सय ३९ जनाले एनओसी लिएकोमा यसपाली तीन महिनामै पाँच हजार चार सय ५३ जनाले अनुमति लिइसकेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो तीन महिनामा ५६ देशमा अध्ययन अनुमति प्रदान गरेको छ । विदेश अध्ययन गर्न २७ हजार सात सय २७ जना विद्यार्थीले ५६ देशमा अध्ययनका लागि मन्त्रालयबाट अध्ययन अनुमति लिएका हन् । गतवर्ष ६६ वटा देशमा अध्ययन गर्न विद्यार्थीले अनुमति लिएका थिए । साउन देखि असोजसम्म विदेश अध्ययन अनुमति लिनेमा सबैभन्दा बढी जापान जाने छन् ।
मन्त्रालयका अनुसार जापानमा नौ हजार छ सय ३८ जनाले अध्ययन अनुमति लिएका छन् । गत आर्थिक वर्षमा जापानमा भाषा सिक्न ३४ हजार सात सय ३१ विद्यार्थीले मन्त्रालयबाट अनुमति लिएका थिए ।
पछिल्लो तीन महिनामा अध्ययन अनुमति लिने ठूलो संख्या जापान पछि बेलायत रहेको छ । गत वर्ष जम्मा १३ हजार तीन सय ३९ जनाले मात्रै एनओसी लिएकोमा यसपाली तीन महिनामै बेलायत अध्ययनको लागि पाँच हजार चार सय ५३ जनाले एनओसी लिएका हुन् । मन्त्रालयका अनुसार बेलायत अध्ययन गर्न गत वर्षको तुलनामा बढी छन् ।
विद्यार्थीको रुचीको तेस्रो मुलुकमा अमेरिका देखिएको छ । पछिल्लो तीन महिनामा अमेरिकामा अध्ययन अनुमति लिने तीन हजार ६४ छन् । चौथोमा अष्ट्रेलिया छ । पछिल्लो तीन महिनामा अष्ट्रेलिया अध्ययनको अनुमति लिने दुई हजार दुई सय ६२ छन् ।
यसअघि विद्यार्थीको चाप रहेको क्यानडामा अध्ययन गर्न एनओसी लिने तीन महिनामा नौ सय ११ जना मात्रै छन् । छिमेकी मुलुक भारतको लागि एक हजार चार सय ४७ र चीनमा अध्ययन गर्न तीन सय ३८ जनाले अनुमति लिएको मन्त्रालयले जनाएको छ ।