मेचीनगर । पठन संस्कृतिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगरमा 'रिडर्स अभियान नेपाल' संस्था स्थापना भएको छ ।
आइतबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी संस्था बारे औपचारिक जानकारी गराइएको हो ।
मेचीनगर-६, काँकरभिट्टामा कार्यालय रहेको संस्थामा ९ कार्यसमिति, ३ विधान मस्यौदा समिति र ४५ जना संस्थापक सदस्य रहेको सो अवसरमा जानकारी गराइयो ।
संस्थाको अध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा भगिरथ राई र सचिवमा मदन अधिकारी छन् ।
त्यस्तै कोषाध्यक्षमा मुकुन्द शिवाकोटी, सहसचिवमा रिया ढुङ्गाना छन् । सदस्यहरुमा दुर्गा भण्डारी, दिपक तिम्सिना, खेमानन्द गौतम र यामप्रसाद पोखरेल रहेको जानकारी दिइयो ।
त्यसैगरी संस्थाको विधान मस्यौदा समितिमा ज्ञानेन्द्र निरौला, सुवर्ण भट्टराई र खिलप्रसाद घिमिरे रहेको जानकारी गराइएको थियो ।
पत्रकार भेटघाटमा संस्थाको परिचयसँगै आगामी मंसिर २७-२९ मा हुने 'रिडर्स फेस्टिवल' बारेमा अवगत गराइएको थियो ।
संस्थाका उपाध्यक्ष भगिरथ राईले प्रेस नोट वाचन गर्दै ३ दिन चल्ने कार्यक्रम बारे जानकारी गराएका थिए ।
प्रेस नोटमा रिडर्स फेस्टिवलमा क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी र खुलारुपमा अध्ययनप्रति रुचि राख्ने समुहलाई लक्षित गरिएको उल्लेख छ ।
कार्यक्रम सबै विद्यालय, क्याम्पस र भुगोलबाट सहभागी गराई अध्ययन प्रतिस्पर्धाको मोडेलमा आयोजना हुने जनाइएको छ ।
सहभागीले आफुले प्रस्तुति दिन चाहेका कुनै तीन पुस्ककको सूची अग्रिम बुझाउनु पर्नेछ ।
बुझाएका पुस्तक सूचीबाटै प्रतिस्पर्धा गराइ आर्जित ज्ञान र प्रस्तुतिका आधारमा उत्कृष्ट १० जनालाई प्रोत्साहित तथा पुरस्कृत गरिने जानकारी दिइएको छ ।
फेस्टिवलमा भारत, म्यान्मार, भुटानदेखिका सहभागी रहने सो अवसरमा जानकारी दिइएको थियो ।
सहभागीलाई अनलाइनमार्फत समेत जोड्ने प्रयत्न भइ रहेको बताइएको छ ।
यो किसिमको कार्यक्रम संभवत: नेपालमै पहिलो हुने आयोजकको दाबी छ ।
सो पश्चात सहभागीबाट उठेका सन्दर्भको जवाफ दिँदै अध्यक्ष आचार्यले पठन संस्कृतिसँग जोडिएर जति संस्था आउँछन् त्यतिनै उक्त स्थानमा पठन संस्कृति फस्टाएर जाने बताए ।
उनले पठन संस्कृतिको विकास र प्रवर्द्धन गर्न सामाजिक जागरण अभियानको आवश्यकता महसुस गरी संस्था स्थापना भएको बताए ।
'सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन' भन्ने नाराका साथ स्थापना भएको संस्थाले पठन संस्कृतिको विकासका लागि जागृत तथा प्रोत्साहित गर्ने, उत्प्रेरित गर्ने तथा सहयोग र सहकार्य गर्ने उद्देश्य राखेको आचार्यले बताए ।
आचार्य रिडर्स झापाका समेत संस्थापक हुन् ।
मेचीनगर-६, स्थित लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारी, लेखक एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थापा, कन्सल्टेन्सी संचालक शंखर भट्टराई, कलाकार केसाङ लामा, पूर्व कार्यपालिका सदस्य लक्ष्मी थिङ, नाट्यकर्मी लिला विष्टलगायत संचारकर्मी सहभागी थिए ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव मदन अधिकारीले गरेका थिए ।