मेचीनगर । निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(प्याब्सन) मेचीनगरको नेतृत्व निर्वाचनमार्फत चुनिएको छ ।
बुधबार मेचीनगर–७, जोरसिमलस्थित ग्रीन भिलेज रेष्टुरेण्टमा आयोजित तेस्रो नगर अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि विक्रम क्षेत्रीको नेतृत्वमा नगर समिति चयन गरेको हो । क्षेत्री कन्भेन्ट इङ्लिस स्कूल धुलावारीका संस्थापक प्रिन्सिपल हुन् । उनी यसअघि प्याब्सन मेचीनगर समिति उपाध्यक्ष थिए ।
सहमतीमा नेतृत्व चयन गर्न अन्तिम अवस्थासम्म प्रयत्न गरिए पनि अध्यक्ष पदमा २ आकांक्षी देखिए पछि निर्वाचनमा जानु परेको थियो ।
क्षेत्रीले २० मत प्राप्त गर्दा अर्का आकांक्षी कमल भेटवालले १५ मत प्राप्त गरे । भेटवाल मेचीनगर–७, स्थित झापा नेशनल इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपल हुन् । ३६ विद्यालय आवद्ध प्याब्सन मेचीनगरमा १ विद्यालय अनुपस्थित रहेको बुझिएको छ ।
त्यस्तै उपाध्यक्षमा सनसाइन अंग्रेजी मावि मेचीनगर–२ का सुरेन्द्र न्यौपाने निर्वाचित भए । सचिवमा पारिजात पब्लिक स्कूल मेचीनगर–९ का विनोद प्रधान सर्वसम्मत चयन भए । कोषाध्यक्षमा सरस्वती शिक्षा सदन मेचीनगर–१० की समिक्षा गौतम निर्वाचित भइन् ।
त्यसैगरी सदस्यहरुमा ओसियानिक अंग्रेजी मावि मेचीनगर–२ का पदम रुचाल, युनाइटेड इङ्लिस स्कूल मेचीनगर–२ का विमल पौडेल तथा होलीबेल अंग्रेजी मावि मेचीनगर–९ की अरिस्ता प्रधान चयन भए ।
यसअघि तीन कार्यकालसम्म प्याब्सन मेचीनगर नगर समितिको नेतृत्व थेसीस अंग्रेजी माविका संस्थापक/प्रिन्सिपल डम्बर रुचालले गरेका थिए । सोअघि सेन्टपल्स इङ्लिस स्कूल चारआलीका प्रिन्सिपल अजय आलेमगरको संयोजकत्वमा पहिलो पटक नगर समिति गठन भएको थियो ।
अधिवेशनमा सहभागी बन्न प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे मेचीनगर आइपुगेका थिए । उनले बोल्ने क्रममा सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरिरहेको आरोप लगाए । निजी स्कुलले गुणस्तरीय शिक्षा पस्किएर सरकारलाई जवाफ दिइरहेको उनको दाबी थियो ।
सो अवसरका निवर्तमान अध्यक्ष रुचाल, प्याब्सन जिल्ला अध्यक्ष गौरीमान फागोलगायतले बोलेका थिए ।
निवर्तमान सचिव नेत्रप्रसाद खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत नवनिर्वाचित अध्यक्ष क्षेत्रीले गरेका थिए ।