काँकरभिट्टा । काँकरभिट्टामा शिक्षा नीति र बौद्धिक पलायन विषयक विमर्श भएको छ ।
काँकरभिट्टामा आयोजित 'रिडर्स फेस्टिबल २०८१' अन्तर्गत प्राध्यापक डाक्टर देवी नेपालले नेपालको अहिलेको शिक्षा नीति माथि विमर्श गरेका थिए ।
नीति आफैमा उत्कृष्ट र सुन्दर तर, कार्यान्वयनमा समस्या रहेको बताउँदै प्राध्यापक नेपालले देशमा प्रगति भनेकै बिदेश गएर पढ्नु हो भन्ने गलत भाष्य निर्माण हुनु अत्यन्त दु:खद भएको बताए ।
हरेक वर्ष १६ लाखबढीले देश छोड्ने गरेको तथ्यांक प्रस्तुत गर्दै यो वर्षमात्र हालसम्म १ लाख १२ हजारबढी विद्यार्थी विभिन्न कारण देखाउँदै बिदेशिएको नेपालको भनाई थियो ।
नेपालले उच्च शिक्षा अध्ययन गर्ने हरेक ५ मध्ये १ बिदेश जाने गरेको तथ्यांक बाहिर आइरहेको बताउँदै देशलाई कोरो र कोक्रोरुपमा प्रयोग गर्नेहरुलेनै देशभक्तिको कुरा गर्नु हास्यास्पद रहेको बताए ।
राष्ट्रिय शिक्षा नीति २०७६ को प्रस्तावनामा उल्लेख गरिएको नारा स्मरण गराउँदै उनले सीप, ज्ञान, प्रविधि, रोजगारमूलक दक्ष जनशक्ति उत्पादन नारामै सिमित भएको टिप्पणी गरे ।
योग्यता अनुसारको मान्यता प्राप्त हुन नसक्नुनै शिक्षा नितीको प्रमुख समस्या रहेको बताउँदै नेपालले श्रमको मूल्य नहुनजेल देशमा ब्याप्त समस्या समाधान नहुने बताए ।
रिडर्स अभियान नेपालले आयोजना गरेको फेस्टिबल आइतबार साँझ समापन हुँदैछ । तीन दिनसम्म आयोजना गरिएको समारोहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।
कार्यक्रममा ७३ विद्यार्थीसहित ८० बढीले प्रतियोगितात्मक पुस्तक विमर्शमा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकसमेत रहेका प्राध्यापक नेपालले प्रतियोगितामा सहभागी कसैले पनि नहार्ने बताउँदै हरेक टिप्पणीकार रिडर्सले कुनैनकुनै उपाधी लिएर जाने बताए ।