धुलावारी । शिक्षक महासंघ झापा अध्यक्ष नेत्र खरेलले शिक्षक आन्दोलन घोषणाको तयारी भईरहेको बताएका छन् ।
शिक्षकमैत्री बचत तथा ऋण सहकारी संस्था मेचीनगर सेवाकेन्द्रको तेस्रो वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष खरेलले काठमाण्डौंमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलन घोषणा हुने तयारी भइरहेको जानकारी आफुलाई प्राप्त भएको बताए ।
मेचीनगर–११, धाइजनस्थित कालिका सिमसारमा बिहीबार आयोजित सभामा बोल्दै खरेलले सरकारले अध्यादेशमार्फत हालै सार्वजनिक गरेको विभेदकारी निवृत्तभरण कोष ऐन कोष २०७५ एवम् शिक्षा ऐन जारी गर्ने सन्दर्भमा सरकारले गरेको ढिलासुस्ती सन्दर्भमा आन्दोलन केन्द्रित हुने बताए ।
राष्ट्रियरुपमा हुने आन्दोलनमा झापाको सशक्त समर्थन र साथ रहने उनले बताए । जसमा लागि तयारी अवस्थामा रहन उनले शिक्षकहरुलाई आग्रहसमेत गरे ।
हालै बाहिरिएको 'पेन्सन ऐन' सम्बन्धमा समेत शिक्षा ऐन जारी भएपछि नियुक्त भएका शिक्षकहरुलाई मात्र योगदानमा आधारित निवृत्तिभरणमा लैजानु पर्ने शिक्षक महासंघ केन्द्र, प्रदेश र जिल्ला तहको माग रहेको खरलले धारणा राखे ।
गतवर्षसमेत देशभरका लाखौं शिक्षक काठमाण्डौंमा उपस्थित भएर आन्दोलन चर्काएका थिए ।
आन्दोलनले ब्यापकता पाएपछि सरकारले आन्दोलनरत शिक्षक नेतृत्वसँग बुँदागत सहमती गरेको थियो । तर, हालसम्म पनि सहमतीका बुँदा कार्यान्वयन हुन नसकेको शिक्षकनेताहरुले बताइरहेका छन् ।
वार्षिक साधारणसभाको अवसरमा वनभोज तथा सम्मान कार्यक्रमसमेत सम्पन्न भएको छ ।
सभामा संस्थाका संस्थापक सदस्य एवम् पूर्व प्रअ रुद्र कुरुङ्वाङ्ग, सेवा निवृत्त शिक्षकहरु टंकनाथ गौतम, तारा गौतम, हरी प्रसाद रिमाल, भानुभक्त खतिवडा, चक्रबहादुर बानियाँ , योगेन्द्र खनाल, डम्बरकुमार श्रेष्ठ, गोपाल चुडाल, डिल्लीराम भण्डारी, युवराज राउत, नारायणी बास्तोला, देवेन्द्र खनाल, शान्ति श्रेष्ठ, देवराज गिरी, विष्णु गिरी, विजयप्रसाद देब, मिरा काफ्लेलगायतलाई सम्मान गरिएको थियो ।
सभामा मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईं, नेपाल शिक्षक संघ मेचीनगर अध्यक्ष शान्ता निरौला, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकाल, विशिष्ट अतिथि नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहाल 'भाष्कर', प्रमुख अतिथि खरेललगायतले मन्तब्य राख्दै शिक्षक सहकारी र यसका गतिविधिका बारेमा चर्चा गरेका थिए ।
सभामा संस्थाका अध्यक्ष सुबास रिजालले अध्यक्ष एवम् लेखा समिति संयोजक चेतन निरौलाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२ सय २९ जना शेयर सदस्य संख्या रहेको संस्थाको शेयर सदस्य हाल २ लाख ३५ हजार रहेको छ ।
महासंघ झापा अध्यक्ष खरेलको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भुपाल राजवंशी र संचालन संस्थाकी सचिव तुलसा खरेलले गरेकी थिइन् ।
जिल्लाभरका १५ पालिकाका सेवाकेन्द्रमा गरी ८ सयबढी सदस्य संस्थामा आवद्ध रहेको सोअवसरमा जानकारी दिइयो ।