इटाभट्टा । प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधरणसभा एवम् छैटौं अधिवेशन आगामी फागुन ७ गते बुधबार आयोजना गरिने भएको छ ।
शनिबार क्लबको कार्यालय इटाभट्टामा सम्पन्न कार्यसमितिको २५ औं नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो ।
बैठकमा क्लबका पूर्व अध्यक्ष, अग्रणी पत्रकारहरु सहभागी थिए ।
अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
अधिवेशन मेचीनगर-१ स्थित ४९ धारा स्थानमा आयोजना गर्ने प्रस्ताव गरिएको अध्यक्ष डम्बर बरालले बताए ।
सोका लागि क्लबका उपाध्यक्ष जीआर धितालको संयोजकत्वमा सचिव देबु बानियाँ, कोषाध्यक्ष विनिशा शर्मा, सदस्यहरु विकास देबकोटा र गगन ढकालसहितको ५ सदस्यीय अधिवेशन आयोजनार्थ आर्थिक उपसमितिसमेत चयन गरेको छ ।
बैठकले आशान्न अधिवेशनलाई मध्यनजर गर्दै क्लबको सदस्यता नविकरण तथा नयाँ सदस्यता खुला गर्ने निर्णयसमेत गरेको छ ।
क्लबका सदस्यहरुले माघ मसान्त भित्र बिधानले तोकेको मापदण्ड पूरा गरी सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन सकिने क्लबका अध्यक्ष बरालले बताए ।
अधिवेशनको प्रकृयामा सहभागी बन्न सदस्यता नवीकरण अनिवार्य गर्ने निर्णय भएको अध्यक्ष बरालले बताए ।
बैठकमा संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जीएन् शर्मा, अर्जुन कार्कीलगायतले धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।