मेचीनगर । पाँचौ संस्करणको 'मेचीनगर गोल्डकप' आगामी फागुन २१ बाट आयोजना हुने भएको छ ।
केही वर्ष स्थगित भएको गोल्डकप फागुन २१ बाट २८ गतेसम्म मेचीनगर-६, स्थित काँकरभिट्टा माविको खेल मैदानमा आयोजना हुने आयोजकले बताएको छ ।
गोल्डकपको आयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर रहेको छ भने संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ बढी रकम खर्च हुने आयोजकले पूर्वानुमान गरेको छ जसमा मेचीनगर नगरपालिकाले २५ लाख रकम सहयोग गर्नेछ ।
काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नगर खेलकुद विकास समिति अध्यक्ष रविन ओझाले उक्त रकम गोल्डकपलाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
प्रतियोगितामा 'ए' डिभिजनका ४ क्लबसहित आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ गरी जम्मा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसअघि काँकरभिट्टा गोल्डकपका नाममा आयोजित गोल्डकपलाई समग्र नगरको अपनत्व रहने गरी मेचीनगर गोल्डकप बनाउने गरी नामाकरण गरिएको आयोजक संस्थाका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।
उनका अनुसार गोल्डकप सम्पन्न गर्नका लागि छोटो समयमै धेरै रकम जुटाउनुपर्ने बाध्यता आयोजकलाई छ ।
सम्पूर्ण उद्योगी व्यवसायी, स्थानीय उद्योग धन्दा, संघ संस्था लगायत खेलप्रेमीहरुलाई सहयोगको आग्रह गर्दै रकम जुटाइनेछ । शनिबारकै कार्यक्रमले गोल्डकप मुल आयोजक कमिटिको संयोजक समेत तोकेको छ ।
कोशी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा गोल्डकपबारे छलफल गर्न आयोजित कार्यक्रममा नगरमा सक्रिय राजनीतिक दलका प्रतिनिधि, मेची भन्सारका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, खेलाडीलगायतको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष अशोककुमार राईले गरेका थिए भने महासचिव लाक्पा तामाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।