मेचीनगर । नेपाल शिक्षक महासंघ मेचीनगरले स्थानीय सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार मेयर गोपालचन्द्र बुढाथोकीको कार्यकक्ष पुगेर शिक्षकको माग मुद्दा समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको हो ।
ज्ञापन पत्र नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकालले मेयर बुढाथोकीलाई बुझाए ।
सो अवसरमा नगरका शिक्षकका पेशागत संगठनका नगर, जिल्ला र प्रदेश तहका शिक्षक नेतृत्व सहभागी थिए ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत मंगलबार प्रथम चरणमा पालिकास्तरीय खबरदारी भेला गर्दै ज्ञापनपत्र बुझाएको महासंघ नगर अध्यक्ष ढकालले बताए ।
आन्दोलन परिचालन समिति गठन :
नेपाल शिक्षक महासंघको निर्देशन बमोजिम मेचीनगरमा पालिकास्तरीय आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
महासंघ नगर अध्यक्ष ढकालको नेतृत्वमा स्थानीय घटक संस्थाका पदाधिकारी तथा सदस्यसहित मेचीनगरका विभिन्न भूगोल र क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुने गरी आन्दोलन परिचालन समिति गठन गरिएको नगर अध्यक्ष ढकालले बताए ।
महासंघको अर्को कार्यक्रम अन्तर्गत आगामी बिहीबार विद्यालयमा आन्दोलनका कार्यक्रमबारे शिक्षक, विद्यार्थी एवम् अभिभावकलाई अवगत गराउने कार्यक्रम रहेको छ ।
विद्यालयमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, शिक्षक, कर्मचारीसहितको भेला आयोजना गरी कार्यक्रम गरिने महासंघले जानकारी गराएको छ ।
शिक्षक महासंघको अगुवाइमा देशभरका ७५३ वटै पालिकामा खबरदारी भेलाको आयोजना गरिएको हो ।