मेचीनगर । मेचीनगरमा शिक्षा ऐन लागू भएपछि नगर शिक्षा समितिको पहिलो वैठक सम्पन्न भएको छ ।
बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको समितिको पहिलो वैठकले चार वटा निर्णयहरु गरेको छ ।
नगर शिक्षा अधिकारी होमनाथ भण्डारी सदस्य सचिव रहेको समितिले वैदेशिक रोजगारका शिलशिलामा गएर मृत्यु तथा घाइते भएका ११ जना नागरिकको सन्ततिहरुका परिवारलाई सरकारले उपलब्ध गराउने वैदेशिक रोजगार छात्रवृतिलाई वैदेशिक रोजगार वोर्डमा सिफारिस पठाउने निर्णय गरेको छ ।
छात्रवृति अनुसार १८ वर्ष ननाघेका ११ जनामध्ये कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले १२ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले १६ हजार रुपैयाँ पाउने छन् ।
बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिलाई पूर्णता दिएको छ । शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो ।
सदस्यहरुमा सामुदायिक विद्यालयका प्रधानाध्यापक मावितहतर्फ कृष्ण पुरी, आधारभूत तहतर्फबाट लोकनाथ ढकाल, संस्थागत विद्यालयको तर्फबाट राजेश निरौला चयन भएका छन् । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रहने व्यवस्था छ ।
त्यस्तै शिक्षा शाखाबाट नगरपालिकाको शैक्षिकस्तर झल्काउने तथ्याङ्क र विवरणसहितको ब्रुसर विद्यालयहरुलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसैगरी संस्थागत विद्यालयको सञ्चालक समितिको अध्यक्ष तोक्ने जिम्मेवारी शिक्षा शाखालाई दिने निर्णय गरेको छ ।
प्रत्येक विद्यालयहरुबाट अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएर आएकोमा एक जना अध्यक्ष चयन गरेर लाने जिम्मा नगर शिक्षा अधिकारीले पाएका छन् ।
नगरप्रमुख बुढाथोकीले शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा भौतिक पूर्वाधार, व्यवस्थापन, शैक्षिकस्तर वृद्वि गर्न र करका विषयमा नीति बनाएर कार्यान्वयन गर्दै जाने बताए ।
मेचीनगरमा शिक्षा नियमावली २०८१ असोज १६ गते नै प्रमाणिकरण भएको थियो । नगरले शिक्षा ऐन २०७६ मा जारी गरेको थियो ।