मेचीनगर । आगामी शनिबारबाट पाँचौं संस्करणको मेचीनगर गोल्डकप सुरु हुँदैछ ।
५ वर्षपछि हुन लागेको गोल्डकप सँघारमा आइपुग्दा संस्थापक सदस्यता लिनेको संख्या बढ्दै गएको छ ।
गोल्डकप सचिवालयले दिएको जानकारी अनुसार बुधबारसम्ममा गोल्डकपको सदस्यता लिनेको संख्या करिब २ सय पुगेको छ ।
२ सय ५० बढी सदस्यता पु¥याउने लक्ष्य आयोजकको छ । संस्थापक सदस्यता शल्क १० हजार निर्धारण गरिएको छ ।
सचिवालयका अनुसार गोल्डकपको सदस्यता लिनेमा स्थानीय आम नागरिकदेखि उद्योगी–व्यवसायी, विद्यार्थी, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता, खेलाडी तथा सांसदसम्म छन् ।
सचिवालयका अनुसार संस्थागतरुपमा सदस्यता लिनेको संख्यासमेत बढ्दै गएको छ । जसमा विद्यालय, सहकारी तथा सामाजिक संघ–संस्थाहरुले सदस्यता लिइरहेको सचिवालयले जानकारी दिएको छ ।
संस्थापक सदस्यहरुले गोल्डकपको लोगो अंकित टि–सर्ट तथा परिचय पत्र प्राप्त गर्नेछन् ।
पाँचौं संस्करणमा आइपुग्दा गोल्डकप आयोजक समितिले संस्थापक सदस्यतता वितरण गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार हालसम्म सदस्यहरुबाट मात्र करिब २० लाख रकम सहयोग स्वरुप संकलन भएको गोल्डकप आर्थिक समिति संयोजक विमल आचार्यले जानकारी दिए ।
पछिल्लो समय २०७६ सालमा आयोजना भएको गोल्डकप कोभिडपछि सञ्चालनमा आउन सकेको थिएन । ५ वर्षपछि आयोजना भएकाले समेत विशेष गरी मेचीनगरबासीले गोल्डकपलाई उत्सवको रुपमा लिएको आचार्यले बताए ।
संस्थापक सदस्यतासँगै सिजनल पासमार्फत अन्य सहयोगसमेत प्राप्त भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए । ओलीले आफ्नो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह गरिएको बताए ।
चर्च ब्वाईज युनाइटेड, मछिन्द्र एफसी, एपीएफ- काठमाण्डौं गरी ए डिभिजनका ३ सहित ८ टिम सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तान र भारतका गरी २ बिदेशी टिम सहभागी हुने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका महासचिव लाक्पा तामाङले बताए ।
प्रतियोगितामा नेपाल सुपर लिग खेलेको झापा एफसी र धरान एफसी सुनसरीसमेत सहभागी बन्दैछन् । आयोजक काँकरभिट्टा एफटिसीको तर्फबाट एक टिम सहभागी बन्ने छ ।
आयोजकका अनुसार गोल्डकपका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
संस्थापक सदस्यता गोल्डकप अवधिभर वितरण हुने आयोजकले बताएको छ ।
फागुन २४ देखि चैत २ गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछ ।

