मेचीनगर । पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ ।
काँकरभिट्टा खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले ४-२ गोल अन्तरले हराएको हो ।
खेलमा पाहुना टिम कालिम्पोङले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।
कालिमपोङका लागि सत्यम शर्माले उत्कृष्ट फृकिक गर्दै पहिलो गोल गरेका थिए ।
पहिलो हाफको ४४ औं मिनेटमा आयोजकका निशान लिम्बूले पेनाल्टीमार्फत गोल गर्दै 'स्कोर' बराबरी गरे ।
जर्जिएन कालिम्पोङका खेलाडीले आयोजका बिदेशी खेलाडी इब्राहिमलाई डिबक्समा फल गरेपछि आयोजक काँकरभिट्टाले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफको छैटौं मिनेटमा आयोजकका लागि बिदेशी खेलाडी इब्राहिमले हेडमार्फत टिमका लागि दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको १६ औं मिनेटमा निशान लिम्बुले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए ।
लगत्तै १९ औं मिनेटमा आयोजका रोबर्टले टिमका लागि चौथो गोल गर्दा आयोजक ४-१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टिमका लागि दोस्रो गोल गर्दै गोलअन्तर ४-२ ले घटाए ।
उद्घाटन खेलको म्यान अफदि म्याच २ गोल गरेका आयोजका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे ।

उद्घाटन खेलमा दर्शकको उल्लेखनीय सहभागिता थियो ।
प्रतियोगिताको दोस्रो खेलअन्तर्गत आइतबार चर्च बोइज काठमाण्डौं र झापा एफसी बीच हुने आयोजकका महासचिव लाक्पा तामाङले बताए ।
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख तथा ट्रफि प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले २१/२१ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै उदीयमान खेलाडीले नगद १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् ।
गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ भने प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समिति रहेको छ ।
होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ ।