मेचीनगर । निषेधाज्ञासँगै झापामा सोमबार विहानबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको छ ।
सोमबार जोर नम्बरका सवारी साधन मात्र सञ्चालन हुन पाउने प्रावधान थियो । तर, विजोर नम्बरका सवारी साधनसमेत प्रहरीको आँखा छल्दै सञ्चालनमा आएको पाइएको छ ।
खासगरी दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलले प्रहरीलाई सास्ति दिएको छ ।
ट्राफिक प्रहरीका अनुसार काँकरभिट्टा÷इटाभट्टा क्षेत्रबाट ३० बढी मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही पछि छाडिएको छ ।
त्यस्तै धुलावारी क्षेत्रबाट ४० बढी सवारी साधन र चारआली क्षेत्रबाट ६० बढी सवारी साधन नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिएका सबै सवारी साधनलाई दुई घण्टासम्म होल्ड गराएर छाडिएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कृष्णबहादुर प्रधानले जानकारी दिए ।
प्रहरीका अनुसार अधिकांश सवारी चालकहरुले अस्पताल जाने जस्ता कारणहरु प्रस्तुत गर्ने गरेको पाइएको छ ।
वास्तविकता पहिचान गरी अत्यावश्यक कामका आम नागरिकहरुलाई सहजीकरण गर्ने गरेको ट्राफिक प्रहरीले बताएको छ ।
ट्राफिक प्रहरी हातमा प्लेकार्डसहित सडकमा सचेतना दिदैं खटिएको देखिन्थ्यो ।
निषेधाज्ञाको पहिलो भएका कारणसमेत प्रहरी आम नागरिकलाई सम्झाउन ब्यस्त देखिएको छ ।
आइतबार बेलुकी १२ बजेबाट जारी निषेधाज्ञा २६ गते बुलुकासम्मलाई कायम गरिएको छ ।