मेचीनगर । विद्यालयको वार्षिक योजना निर्माणमा सम्बन्धित क्षेत्रका आम सरोकारवालाहरुको भेला सम्पन्न भएको छ ।
मेचीनगर–८, इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयले जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक, एवम् व्यवस्थापन तथा शिक्षक अभिभावक संघको वृहत् सहभागितामा आगामी वर्षको वार्षिक योजना निर्माण गरेको छ ।
सोमबार आयोजित आम भेलामा विभिन्न चारवटा समूह निर्माण गरी कार्ययोजना बारे सुझाव एवम् राय संकलन गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताए ।
सोअवसरमा व्यवस्थापन तथा अभिभावक समूहको तर्फबाट शिक्षक अभिभावक संघका अध्यक्ष केदार नेपाल, अभिभावक समूहको तर्फबाट पूर्व विव्यस अध्यक्ष रेवन्तराज पोख्रेल, विद्यार्थी समूहको तर्फबाट कक्षा १२ का विद्यार्थी विकास गौतम तथा शिक्षक समूहको तर्फबाट रुमा राजवंशीले समूहगत राय तथा सुझाव बुँदागतरुपमा प्रस्तुत गरेका थिए ।
उनीहरुले विद्यालयले आगामी समयमा अपनाउनु पर्ने रणनीति तथा कार्यक्रम सम्बन्धमा धारणा राखेका थिए । विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अझ सुधार गर्दै लैजाने सन्दर्भमा लिखित योजना प्रस्तुत गरिएको थियो ।
संकलन गरिएका राय तथा कार्यक्रमहरुलाई यथासक्य कार्यान्वयन गरिने प्रअ पुरीले प्रतिवद्धता जनाए ।
‘विद्यालयले आम अभिभावकको अपेक्षा अनुसारको शिक्षा दिन अब केही फरक योजना बनाउनै पर्छ,’ उनले भने, ‘आगामी वर्ष सबैको साझा धारणा समेट्दै केही नयाँ योजनाका साथ अघि बढ्ने विद्यालयको सोच छ ।’
सोही अवसरमा विद्यालयका प्रअ पुरीले आगामी वर्षका लागि अनुमाति ६५ लाखको वार्षिक बजेट प्रस्तुत गरेका थिए । विद्यालयको वार्षिक आयले खर्च धान्न नसक्ने अवस्था देखिएको उल्लेख गर्दै प्रअ पुरीले स्रोत व्यवस्थापनमा जुट्न सम्बन्धित सबैमा आग्रहसमेत गरे ।
भेलाले प्रअले प्रस्तुत गरेको प्रस्तावित बजेट योजना सुझावसहित पारित गरेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्को अध्यक्षतामा सम्पन्न भेलामा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर पूर्वाधार विकास समिति संयोजक एवम् कार्यपालिका सदस्य चित्र धिमालले कार्यान्वायन गराउने निकायदेखि योजना निर्माणमा स्रोत साधान परिचालन गर्ने निकायसम्मको उपस्थितिमा विद्यालयको योजना निर्माण गर्ने कार्यक्रम उत्कृष्ट सोचको उपज भएको बताए ।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका धिमालले नगरपालिकाको तर्फबाट विगतदेखि हुँदै आएका सहयोग र समन्वय निरन्तर रहने प्रतिवद्धता जनाए ।
‘तपाईंहरु गुणस्तर निर्माणमा लाग्नुहोस्,’ धिमालले भने, ‘नगरपालिका सँधै अभिभावकको रुपमा तपाईंहरु समक्ष साथमा रहने छ ।’
त्यस्तै कार्यक्रमकी अतिथि नगर कार्यपालिका सदस्य कविता मिजार खनालले विद्यालयले हालसम्म हासिल गरेको प्रगतिले पूर्व विद्यार्थीको रुपमा आफूहरुलाई गौरव गर्न लायक स्कूलको रुपमा रहेको भनाई राखिन् ।

नगर शिक्षा समिति सदस्यसमेत रहेकी खनालले आगामी वर्ष केही नयाँ योजनाका साथ नगर शिक्षा समिति प्रस्तुत हुने दावी गर्दै विद्यालयको असल अभ्यास अन्य विद्यालयमा समेत आदानप्रदान हुनुपर्ने उनले बताइन् ।
पूर्व वडाध्यक्ष विकेन्द्र धिमालले भौतिक व्यवस्थापन सँगै विद्यालयको गुणस्तर कायम हुन सके नसकेको बारे ध्यान राख्न सचेत गराए । उनले विद्यालयको नाम अनुसारको आदर्श काम हरेक क्षेत्रमा हुनुपर्नेमा जोड दिए । उनले अभिभावकलाई समयसमयमा पत्र मार्फत नानीहरुको पढाइ बारे ध्यानाकर्षण गराउने पर्ने धारणा राखे ।
कक्षा १२ सम्म सञ्चालित विद्यालयमा हाल करिब १२ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हाल पूर्व प्राथमिक तहका नर्सरी, एलकेजी, यूकेजीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यम तथा कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।

विद्यालयले आउँदोे वर्षदेखि कक्षा ११ समेत प्राविधिक विषयसहित अंग्रेजी माध्यममा सञ्चालन गर्ने योजना रहेको सो अवसरमा जानकारी दिइयो ।
भौतिक व्यवस्थापनमा पछि परेको आरोप खेपीरहेको विद्यालयमा हाल मेचीनगर नगरपालिका, संघीय सरकारको लगानीमा ८ कोठे भवन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने १२ कोठे भवन निर्माणाधिन अवस्थामा छ ।
आगामी वर्ष थप भवन निर्माणको क्रममा रहेको विद्यालयले स्रोतले जनाएको छ ।
