मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर तल्लो तहसम्म देखिन थालेको छ । नेकपाको केन्द्रीय राजनीति त अहिले ‘पानी बाराबार’ को अवस्थामा छ । स्थानीय स्तरमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ ।
विगतमा नेकपाको जिम्मेवारी सम्हालेका कतिपय नगर, क्षेत्र तथा जिल्ला नेताहरुले अझै पनि कित्ता क्लियरै गरेका छैनन् । मेचीनगर कम्युनिस्टहरुको किल्ला मानिन्छ । यहाँको राजनीतिले केन्द्रमा पनि असर र प्रभाव पार्छ । त्यसैले वैधानिक रुपमा नेकपा विभाजन नभए पनि बहुमत र अल्पमतको खेल सतहमा आएको छ ।
दुइटै धारमा उभिन सक्ने अवस्था छैन: नेता भण्डारी
मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारीले अहिलेको अवस्थामा नेकपाका दुईवटै धारमा उभिन सक्ने अवस्था नरहेको बताएका छन् । जन-संसद् दैनिकसँग कुुराकानी गर्दै क्षेत्रीय समन्वय कमिटी सचिवसमेत रहेका नेकपा नेता भण्डारीले प्रतिगमन र त्यसको विरोधमा भइरहेका आन्दोलनका मुद्धाहरु प्रष्ट नभएको धारणा राखेका छन् ।
नेता भण्डारीले हालको प्रणाली नै परिवर्तन नगरी अहिले दुबै पक्षले चलाएका आन्दोलनमा सहभागी बन्ने अवस्था नरहेको स्पष्ट पारे । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको घटनालाई इङ्गित गर्दै नेता भण्डारीले भने, ‘फेरि पनि राजनीतिक लडाइँ सकिएको रहेनछ भन्ने पछिल्लो पुस ५ को घटनाले पुष्टि गरेको गरेको छ ।’
पछिल्लो समयमा नेकपा अलग-अलग बन्नुपर्ने सैद्धान्तिक विषयवस्तु नै नभएको अवस्थामा स्वार्थ र प्रतिशोेधका कारण सिंगो पार्टी नै विभाजन हुनु परेको बताउँदै नेता भण्डारीले दिनदिनै परिस्थिति चरम ध्रुवीकरणतर्फ गएकोे टिप्पणी गरे ।
अहिलेको अवस्थामा प्रणाली नै फेर्नका लागि आन्दोलनको जरुरी देखिएकोमा जोड दिँदै प्रतिगमनको विरुद्धमा, अग्रगमन र परिवर्तनको पक्षमा फेरि एकपटक लड्नुु पर्ने अवस्था आएको भण्डारीको भनाई छ । हालको अवस्थामा संसद व्यवस्था भित्र प्रधानमन्त्री केपी ओलीको विकल्पमा प्रचण्ड, माधव, झलनाथ, शेरबहादुर लगायतका जुनसुकै नेता सत्तामा आएपनि देशले राजनीतिक निकास पाउने अवस्था नरहेको उनको बुझाइ छ ।
संसद पुनस्र्थापना भएपनि देशमा स्थिर शान्ति हुने अवस्था नदेखिएको र त्यसको निकासका लागि अहिलेको अवस्थामा प्रणाली नै फेर्नुपर्ने देखिएको बताउँदै मूूलकको दिगोे शान्ति र विकासका लागि प्रतिगमनका विरुद्धमा लड्नु पर्ने अवस्था आएकोमा उनले जोड दिए ।
हालको अवस्थामा प्रतिमगन र अग्रगमन दुबै पक्ष बराबर शक्ति सन्तुलनको अवस्था रहेको बताउँदै नेता भण्डारीले भने, ‘प्रतिगमन र अग्रगमन दुबै पक्षको बराबर सम्भावना देखिएको छ, जुन पक्षले परिवर्तन र सही ढंगको मुद्धा बोकेर हिँड्छ त्यही पक्षले जनताको साथ पाउनेछ ।’
यही स्थिति बढ्दै जाँदा मुलुक थप धु्रवीकरणतर्फ जाने भन्दै नेता भण्डारीले फेरिपनि अहिलेसम्म प्राप्त उपलब्धिलाई टेकेर हाम्रोे लक्ष्य अनुसार बढ्ने बेलामा नेताहरुको नितान्त ब्यक्तिगत स्वार्थमा कारण प्राप्त भएको राज्य व्यवस्था नै गुम्ने खतरा भएको उनले बताए ।
फेरि एकपटक अग्रगमन र परिवर्तका लागि लड्नु पर्ने बताउँदै नेता भण्डारीले अग्रगमनको नेतृत्वसमेत अहिलेका कुनै दलहरुले गर्न नसकेको आरोप लगाए । अहिलेको अवस्था आउनुमा नेताहरुको ब्यक्तिगत स्वार्थ जोडिएको बताउँदै नेता भण्डारीले व्यक्ति नभई व्यवस्था केन्द्रीत राज्य व्यवस्था निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।
नेकपा मेचीनगरको अध्यक्ष म हुँ: नेता अर्याल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मेचीनगर कमिटी अध्यक्ष माधव अर्यालले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट अर्को फैसला नआएसम्म नेकपा नगर कमिटी अध्यक्ष आफू नै भएको प्रतिक्रिया दिएका छन् ।
नेता अर्यालले नेकपा भित्र देखिएको ध्रुवीकरणको सम्बन्धमा कुन समूहले पार्टीको आधिकारिकता प्राप्त गर्ने भन्ने विषय विचाराधीन अवस्थामा रहेकाले आफु अहिलेसम्म नेकपाको आधिकारिक अध्यक्ष रहेको बताउँदै कुन समूह वा पक्षमा उभिने भन्ने बिषयमा निर्वाचन आयोगसँगै अदालतको निणर्य आफूले पर्खिएको बताए ।
अहिले अवस्था आउनुमा पात्र मात्र नभई संविधानमा भएको व्यवस्था नै दोषी भएको अर्यालले टिप्पणी गरे । तत्कालीन नेकपा माओवादी केन्द्रले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, नेकपा एमालेले अघि सारेको कार्यकारी प्रधानमन्त्री एवम् काँग्रेसले अघि सारेको संसदीय व्यवस्था लगायतका राजनीतिक मुद्धाहरु मिलाएर सुधारिएको संसदीय व्यवस्था कायम गरिनु बाहिरी लेपन लगाएर संविधानमा व्यवस्था गरिएको अर्यालको भनाइ छ ।
नेता अर्यालले आफू पार्टीप्रति ऋणी भएको बताउँदै दल सम्बन्धी आधिकारिक निकायबाट फैसला आएपछि आफु अध्यक्ष बन्ने नबन्ने या पार्टीले आफुलाई बनाउने नबाउने टुङ्गो हुने उनले बताए । पार्टीको आधिकारिकता नआएसम्म आफु कुनै गुट वा पक्षतिर नलाग्ने भन्दै नेता अर्यालले अब संसदीय व्यवस्थामा देखिएको खोटलाई सच्याउन अबको आन्दोलन केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
अहिलेको स्थिति आउनुमा केपी ओली मात्र दोषी नभएको भन्दै अर्यालले संविधान र सिंगो प्रणालीमा नै त्रुटी रहेको र सोही कमजोरीलाई टेकेर प्रधानमन्त्री ओलीले प्रहार गरेको बताए । अहिलेको प्रधानमन्त्रीको कदम संविधान विपरीत रहेकाले यसलाई सच्याउनु पर्ने बताउँदै उनले पुरानो व्यवस्थामा फर्किएरसमेत देशले निकास नपाउने बताए । जसका लागि अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूणर् समानुपातिक निर्वाचन प्रणाली र नीति निर्माण तहका लागि बढीमा ७५ सदस्य रहने गरीको विधायिकासहित राज्य व्यवस्था निर्माणमा लाग्नुपर्ने नेता अर्यालले बताए ।
संविधानमा देखिएको खोटलाई सच्याउन सबै लाग्नुपर्ने बताउँदै उनले अब त्यसको लागि सबैको सहकार्य जरुरी रहेको बताए । ओली पक्षबाट मेचीनगरमा नेकपा अध्यक्ष तोकी सकियो, तपाईंलाई प्रचण्ड-माधव पक्ष कित्तामा राखिएको हो ? भन्ने प्रश्नमा अर्यालले राजनीति भित्र देखिएको विकृतिलाई जुनै पक्षको भएपनि आफुले विरोध गर्ने बताए ।
तर एउटा पक्ष वा जो कसैले गरको संविधान विरोधी कदमलाई आलोचना, विरोध गरेकै भरमा अर्को पक्षसँग जोडेर टिप्पणी गर्नु जायज र सान्दर्भिक नभएको उनले बताए । नेकपा मेचीनगर कमिटी अध्यक्षको हैसियतले सबै नेता कार्यकर्तालाई अझै पनि परिवर्तन र समृद्धिको पक्षमा उभिन आग्रह गर्दै अर्यालले सर्वोच्च अदालत र निर्वाचन आयोगको आधिकारिक फैसला पर्खन उनले आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनपछि नेकपामा उब्जिएको तीब्र धु्रवीकरणसँगै पार्टी नै विभाजनको अवस्थामा पुगेपछि पुस २५ गते नेकपा नेतृत्वमा रहेका सात नेताहरुले पार्टी एकताको पक्षमा जोड दिँदै विज्ञप्ति प्रकाशित गरेका थिए । उनीहरुले पार्टी एकताको अभियान मेचीनगरबाट सुरु गरिएको जानकारी गराएका थिए ।
जसमा क्षेत्रीय संयोजक तथा प्रदेश सासंद गोपालचन्द्र बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा अर्का प्रदेश सासंद् श्रीप्रसाद मैनाली, क्षेत्रीय समन्वय कमिटी सचिव प्रकाश भण्डारी, प्रदेश क्षेत्रीय समन्वय कमिटी संयोजक बन्धनकुमार मुन्डा, प्रदेश क्षेत्रीय समन्वय कमिटी सचिव पुष्प गुरागार्इं, मेचीनगर नगर कमिटी सह-इञ्चार्ज रामकुमार राई, मेचीनगर कमिटी अध्यक्ष माधव अर्यालसहित सात नेताले हस्ताक्षर गरेका थिए । तर, केही समय पछि नेता गुरागाईले विज्ञप्ति निकालरे फिर्ता लिएका थिए ।
तर, पछिल्लो समय प्रदेश सासंदहरु बुढाथोकी र मैनालीले प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएसँगै राजनीतिक माहोल फेरियो । प्रदेश सांसदद्वय पुनः ओली पक्षीय गुटतर्फ सोझिएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७ १९:४६