काँकरभिट्टा । दिउँसोको चर्को घाम, कोही रङ्गीचङ्गी अक्षरले भित्ता रङ्ग्याउँदै छन् त कोही काठ र कार्टुनका सामग्री खिपेर तयार पार्दैछन् ‘भविष्यको नमुना विद्यालय भवन ।’
झापाको मेचीनगर-६, काँकरभिट्टास्थित अरुणोदय आवासीय माविको प्राङ्गणमा सोमबार मध्याह्न पुग्दा देखिएको दृश्य हो यो ।

विद्यालयले मंगलबार र बुधबार २ दिने उत्सवको आयोजना गर्दैछ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा “अरुणोदय उत्सव” आयोजना गरिएको विद्यालयका अध्यक्ष भगिरथ राईले बताए ।
पछिल्लोसमय अभिभावक माझ फरक पहिचान बनाउँदै आएको विद्यालयले मेहनतका साथ विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन उत्सव तयारी गरिरहेको छ ।
उत्सवमा पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थीहरुले विविध प्रतिभा देखाउने छन् । जसमा अभिभावकहरु समेत छमछमी नाच्ने छन् प्रतियोगितात्मक नृत्यमा ।
अर्को फरक प्रस्तुतिको रुपमा कन्भोकेशन हुँदैछ । कक्षा यूकेजी पास हुनेहरुले कन्भोकेशनमा भाग लिने छन् । उनीहरुका लागि उच्च शिक्षाका विद्यार्थीहरुले पाउँने सुविधा सोसरहकै पोषाक र ब्याच प्राप्त गर्नेछन् ।
उत्सवमा दर्जनबढी स्टल रहनेछन् । जसमा पुस्तक तथा खेलकुद प्रदर्शनी, चित्रकला/हस्तकला, खाद्य वस्तु, स्थानीय खाना परिकार, स्काउट सामग्रीलगायत समावेश हुनेछन् ।
उत्सवको दोस्रो दिन आधुनिक विज्ञानका सामग्रीदेखि परम्परागत, लोपोन्मुख सामानहरु देख्न सकिनेछ ।
विद्यालयका अभिभावक तथा शुभेच्छुकहरु सम्मानित हुँदैछन् ।
बढ्दो आधुनिकता अनि हराउँदो मौलिकतालाई मध्यनजर गर्दै सोही अनुरुपको उत्सव आयोजना गरिएको विद्यार्थीहरुसँगै सामग्री निर्माणमा भेटिएका अध्यक्ष राईले बताए । ‘अब केही फरक योजना र सुविधाहरु विद्यार्थीहरुले नपाउने हो भने विद्यालय किन आउँने, राईले भने,’ ‘अरुणोदयनै किन! भन्ने उत्तरको खोजिमा आँफुहरु लागि रहेका छौं ।’