झापा । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ’बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ । ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ ।
नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन ।
खेलको जानकारी
खेल : नेपाल भर्सेस चाइनिज ताइपेई
प्रतियोगिता : विश्वकप तथा एसियन कप संयुक्त छनोट (दोस्रो चरण)
स्थान : कुवेत सिटी, कुवेत
समय : राति ९ः४५ बजे (नेपाली समयअनुसार)
प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन
फिफा वरीयता : ताइपेई (१४१), नेपाल (१७१)
हेड टु हेड
खेल : २
नेपाल : १ जित, १ बराबरी
ताइपेई : १ हार, १ बराबरी
के भन्छन् प्रशिक्षक?
अब्दुल्लाह अलमुताइरी (नेपाल)
कुवेतको मौसममा खेल्न सजिलो छैन । त्यसैले दुवै टिमका लागि गाह्रो हुनेछ ।
हामी समूहमा चौथो स्थान पक्का गर्दै एएफसी एसियन कप छनोटमा अवसर पाउन चाहान्छौ । त्यसका लागि हामी जितको लागि खेल्छौं ।
छनोटको तयारी गर्न धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौ । हामीसँग प्रतिभाशाली युवा खेलाडीले भरिएको टिम छ । त्यसैले हामीले खेलाडीहरूलाई अघि बढ्न साथ दिनुपर्छ ।
भोम काहुम (ताइपेई)
कुवेतको मौसममा भिज्न गाह्रो भइरहेको छ । हाम्रो मुख्य चुनौती नै यहाँको मौसम भइरहेको छ ।
हाम्रा मुख्य खेलाडी र विदेशमा खेलिरहेका खेलाडी कोभिडको कारण टिममा छैनन्। नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने आसा गरेको छु ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट