राजेन्द्र अधिकारी
चट्याङ के हो ?
आकाशमा बिजुली चम्केका बेला अक्सर मेघ गर्जेको सुनिन्छ । त्यस बेला चट्याङ पर्न सक्छ । बादलको माथिल्लो तहमा रहेका विद्युतीय चार्ज (पोजेटिभ) र तल्लो तह अर्थात् पृथ्वीको सतहमा भएका विपरीत विद्युतीय चार्ज (नेगेटिभ) बीचमा वायुको झट्का तल–माथि, दायाँ–बायाँ हुन्छ । यस क्रममा आकर्षण पैदा हुन्छ । हावामै विद्युत प्रवाह गर्न सक्ने अवस्था उत्पन्न भएमा विद्युत बहन्छ र त्यो पृथ्वीको सतहमा मिसिएर जान्छ । यसलाई हामी चट्याङ परेको भन्छौँ ।
पृथ्वीको वायुमण्डलको तल्लो भाग अर्थात् समुन्द्र सतहदेखि १७ दशमलव ७० किलो मिटरसम्मलाई ट्रोपोस्फेअर भनिन्छ। यो तहमा निरन्तर वायु तलमाथि भइराख्छ । चिसो र तातो हावाको प्रवाह उग्र पनि हुने गर्छ । सामान्यतया हाम्रा हिमालको उचाइको फैलावट ५६०० मिटरदेखि ८८५० मिटरभित्र पर्ने तापक्रम (माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियस) र चापसँग मेल खाने वायुमण्डलको उचाइमा हावामा रहेका पानीका अणु चिसिँदै गएर बरफ बन्न थाल्छन् र चिसिँदै गएको हावा र बरफ नै बादलको रूपमा देखिने गर्छ ।
जब तीव्र रूपमा तलबाट तातो हावा माथि जान्छ, बरफ बन्दै गरेका साना मणिभ र ठूला टुक्राबीचमा घर्षण उत्पन्न हुन् थाल्छ र साना कणहरू पोजेटिभ चार्जसहित हावाको तहले गर्दा माथिल्लो भागमा पुगेर फैलिन्छन् भने बरफ बनेका असिनालगायत ठूला टुक्रा गरुङ्गो हुने भएकाले नेगेटिभ चार्जसहित तल्लो भागतिर रहन्छ ।
जब पर्याप्त मात्रामा बादलमा चार्ज पैदा हुन्छ, त्यो विपरीत चार्जका कारण शक्तिशालि विद्युतीय क्षेत्र उत्पन्न हुन् जान्छ । त्यही विद्युतीय क्षेत्रकै कारण विपरीत चार्जको बीचमा निकै धेरै भोल्टेजको विद्युतीय शक्ति उत्पन्न हुन्छ । तल्लो तहको नेगेटिभ चार्जका कारण पृथ्वीको सतहको नेगेटिभ चार्जलाई विकर्षण गर्ने क्रममा पृथ्वीको सतह र अग्ला ठाउँहरू आदिमा पोजेटिभ चार्ज उत्पन्न हुन पुग्छ । यही पोजेटिभ चार्जका कारण बादलको तल्लो तहमा भएको नेगेटिभ चार्ज आकर्षित हुँदा विद्युतीय झट्का उत्पन्न हुन जान्छ । बादलको तहहरूबीचको कुचालक हावाले बढ्दै गरेको चार्जका कारण बढ्ने विद्युतीय क्षेत्रलाई थेग्न नसक्ने अवस्थामा हावाले पनि विद्युत प्रवाह सुरु गर्छ ।
यसरी झट्का निस्किँदा प्रकाश, ताप र ध्वनि एकैसाथ निस्किन्छन् । प्रकाशको गति ध्वनीको गतिभन्दा छिटो हुने भएकाले बिजुली चम्केको केही सेकेण्ड पछि मात्रै गड्याङ्ग्गुडुङ आवाज आउँछ। यसैलाई हामीले चट्याङ भन्छौँ ।
यसरी बादलको तल्लो तहको नेगेटिभ चार्जको कारण उत्पन्न हुने चट्याङलाई नेगेटिभ चट्याङ भनिन्छ । बादलको माथिल्लो तहमा भएको पोजेटिभ चार्जको कारणबाट पनि चट्याङ उत्पन्न हुन्छ, त्यो पोजेटिभ चट्याङ हो । पोजेटिभ चट्याङ ५ देखि १० प्रतिशत हुने गर्छ भने ९० प्रतिशतभन्दा बढी नेगेटिभ चट्याङ पर्ने गर्छ ।
पोजेटिभ चट्याङ नेगेटिभको तुलनामा निकै खतरनाक हुन्छ । यो निकै लामो दूरीको बादलको तहबीचमा पनि उत्पन्न हुन्छ । पोजेटिभ चट्याङमा ३ लाख एम्पिअरसम्म विद्युतीय धारा उत्पन्न हुन सक्छ, जसले ३० हजार डिग्री सेल्सियससम्म तापक्रम पैदा गराउन सक्छ भने नेगेटिभ चट्याङमा ३० हजार एम्पिअरसम्म विद्युतीय धारा उत्पन्न हुने गर्छ ।
हिउदको समयमा पर्ने चट्याङ पोजेटिभ चट्याङ हो । पोजेटिभ चट्याङको कारण वनमा आगलागी हुने र डढेलो फैलिने पनि गर्छ। नेपालमा चैतदेखि जेठसम्मको अवधिमा चट्याङ धेरै पर्ने गरेको छ । सामान्यतया चट्याङ अग्लो ठाउँमा धेरै पर्ने गरेको पाइन्छ ।
पेरिसको आइफेल टावर, यूएईको बुर्ज खलिफामा परेको चट्याङको फोटो देख्न सकिन्छ । हाम्रो स्वयम्भूको स्तुपामा पनि चट्याङ परेर क्षति पुगेको थियो । अग्ला डाँडा, रुखहरू, टावर, अग्ला घरमा चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।
नेपालमा प्रत्यक वर्ष औसतमा १ सय ८ जना व्यक्तिले चट्याङ लागेर ज्यान गुमाउने गरेका सरकारी रेकर्डले देखाउँछ । झण्डै ४ सयको संख्यामा घाइतेको हुने गरेका छन् । थुप्रै पशु चौपाया मर्छन् । भौतिक संरचनामा पनि क्षति हुने गरेको छ । २५ अगस्ट सन् २०२० मा जुम्लाको एउटा भेडी चरणमा चट्याङको कारणले एकै ठाउँमा पाँच सय भेडा मरेका थिए ।
नेपाल चट्याङको जोखिमको हिसाबले दक्षिण एसियामा जनसंख्याको अनुपातमा धेरै मृत्यु हुनेमा पहिलो नम्बरमा पर्छ भने विश्वभरको जोखिमपूर्ण राष्ट्रको सूचीमा पाँचौ स्थानमा पर्छ । नेपालका जिल्लाहरूमा मकवानपुरमा धेरै चट्याङ पर्छ । भूकम्पपछि दोस्रो ठूलो विपदको रूपमा चट्याङ देखिएको छ ।
चट्याङबाट कसरी बच्ने ?
चट्याङमा विद्युतीय धारा हुन्छ भन्ने कुरा बेन्जामिन फ्रेङ्क्लिनले सन् १७५२ चंगा उडाउँदा पत्ता लगाएका थिए । विद्युतीय चार्जकै कारण चट्याङ पर्ने भएकाले अग्लो ठाउँ, रुखबिरुवा, पानीले भिजेको चिसो ठाउँ, धातुहरू भएको रड, रेलिङ, भ¥याङ, टेलिफोन, बिजुलीका तार, विद्युतीय उपकरण आदिबाट सकेसम्म आफूलाई टाढा राख्ने कोसिस गर्नुपर्छ । सामान्यतया दिउँसो साढे २–३ बजेपछि मात्रै चट्याङ पर्ने अनुकूल अवस्था सृजना हुने भएकाले बेलुकीपख तीन बजे पछाडि जंगलमा घाँसदाउरा गरेर अनि पशु चौपाया चराएर बस्नु उपयुक्त हुँदैन ।
चट्याङ पर्दा हुरीबतास, पानी पनि आउन सक्ने भएकाले रुखमुनि बस्ने गरिन्छ तर त्यो जोखिमपूर्ण हुन्छ । खुल्ला ठाउँमा टाउको घुडामुनि लुकाएर डल्लो पर्दा न्यूनतम क्षेत्रफल मात्र सम्पर्कमा आउने हुँदा कम क्षति हुने मानिन्छ ।
घर वरिपरी भए तुरुन्तै घरभित्र पस्ने, विद्युतीय उपकरण चलाउन बन्द गर्नुपर्छ । चट्याङ पर्दा चुम्बकीय क्षेत्र पनि सँगै उत्पन्न हुने भएकाले घरनजिकै चट्याङ परेको छ भने फलाम स्टीलका रेलिङ्ग, रड, टिनका पाता आदिमा पनि चुम्बकीय क्षेत्रको कारण विद्युत पैदा हुन सक्छ । त्यसकारण धातुका सामग्री समात्ने, टेलिफोन, टिभी, ल्यापटपजस्ता विद्युतीय उपकरण चलाउने काम गर्न हुँदैन ।
वनभोज गएको बेला चट्याङ पर्न थाल्यो भने एकै ठाउँमा समूहमा बस्नुको सट्टा छरिएर टाढाटाढा हुँदा क्षति कम हुन सक्छ । पदयात्रा जाँदा अग्लो ठाउँको सट्टा समथर परेको भाग क्याम्पका लागि छनोट गर्दा राम्रो हुन्छ । टेण्टभित्र बस्दा सुरक्षित भइन्छ भन्ने भ्रम हो । डोरी, तार, पोल, पानीको चिस्यानमार्फत चट्याङको असर पर्न सक्छ ।
चट्याङ परेका बेला पानीमा काम गर्ने, पौडी खेल्नु हुँदैन । मानिसलाई भन्दा पशु चौपायालाई चट्ट्याङ पर्ने सम्भावना बढी हुने हुँदा चौपायाको नजिक बस्नु पनि उपयुक्त हुँदैन । घर, कार्यालय भवनहरू चट्याङबाट सुरक्षित राख्न उचित ढंगले विद्युतीय लाइन अर्थिङ गर्नुपर्छ र घरको माथिल्लो भागमा छतमा एउटा सुचालक रड राख्न सकिन्छ । उक्त रडमार्फत चट्याङबाट उत्पन्न हुने विद्युतीय चार्ज जमिन मुनी तारको माध्यमले अर्थिङ गरेर पठाइन्छ र घरको विद्युतीय लाइन सुरक्षित राख्न सकिन्छ ।
चट्याङ परिहाल्यो भने के गर्ने ?
चट्याङले कतिपय बिरामीहरूलाई असाध्यै खराब असर गर्न सक्छ । चट्ट्याङ लागेर घाइते भएका व्यक्तिहरूमा विभिन्न दीर्घकालीन समस्या उत्पन्न हुन सक्छ । जस्तो कि दिमागमा क्षति, मुटुको समस्या, ध्यानकेन्द्रित नहुने, निद्रा नपर्ने, सुन्ने शक्ति गुम्ने, चक्कर लाग्ने, बाँझोपन हुने आदि ।
विभिन्न अध्ययनहरूबाट मुटुरोगी, नशाका बिरामी, डिप्रेसनका समस्या भएकाहरू, गर्भवती, बालबालिकाहरूलाई चट्याङले नराम्रो असर पर्ने निस्कर्ष निस्केका छन् । चट्याङका कारणबाट तर्सेर बेहोश हुने पनि हुन् सक्छ । मुटुले काम नगर्न सक्छ । यस्तो अवस्थामा सीपीआर गराउने, नआत्तिने, भागदौड नगर्ने, बालबालिकालाई जथाभावी समात्न नदिने गर्नुपर्छ। करेन्ट लागेर असर गरेको छ भने टाउको हल्का खुट्टाभन्दा तल पर्ने गरी सुताउने र उसको क्षति पुगेको अंगको प्राथमिक उपचार गर्ने, नशाहरूमा क्षति पुगेको हुन सक्छ । दबाब नदिई सुरक्षित अवस्था आएपछि अस्पताल लैजाने, स्वास्थ्यकर्मीले भनेअनुसार बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्छ ।
के चट्याङका फाइदा पनि छन् ?
चट्याङ डर लाग्दो र धेरैको ज्यान लिने प्रकोप भए पनि यो प्रकृतिमा अवस्थित प्रक्रिया हो । जीवको उत्पतिभन्दा पहिल्यैदेखि पृथ्वीको वायुमण्डलमा चट्याङ पर्ने गर्थ्यो भन्ने विश्वास छ वैज्ञानिकहरूको । कतिपय अनुसन्धानअनुसार चट्याङकै कारण जीवको उत्पतिका लागि आवश्यक जटिल अणुहरू बन्न सम्भव भएको भन्ने पनि छ ।
चट्याङ परेका बेला बलिया बन्धन भएका नाइट्रोजनका अणुहरू टुक्रेपछि नाइट्रोजन अक्साइड बन्ने गर्छ । विरुवालाई चाहिने नाइट्रोजन यसै प्रक्रियामार्फत प्रकृतिमा उपलब्ध हुने गर्छ । साथै चट्याङ पर्दा अक्सिजनको अणुसित अर्को अक्सिजन परमाणु मिलेर ओजोन पनि बन्ने गर्छ ।
वायुमण्डलको ट्रोपोस्फेयरभन्दा माथिल्लो तहमा ओजोन रहँदा सूर्यबाट आउने हानीकारक विकिरणहरू त्यसले रोकिदिन्छ र पृथ्वीसम्म आउन सक्दैनन् । चट्याङले पृथ्वीको सतहमा पैदा गराउने ओजोन भने मानव स्वास्थ्यको लागि हानीकारक मानिन्छ । वायुमण्डलका अन्य कैयौँ प्रक्रियाहरूमा चट्याङ अपरिहार्य पनि छ । अहिले प्रकृतिमा खेर गइरहेका ऊर्जाहरूलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर थुप्रै अनुसन्धान हुने गरेका छन् । कुनै दिन प्राकृतिक रूपमा प्राप्त चट्ट्याङबाट उत्पन्न हुने लाखौँ एम्पिअर करेण्टले दिन सक्ने ऊर्जा सही ढंगले व्यवस्थापन हुने प्रविधीको विकास भयो भने त्यो निकै खुसीको विषय बन्न सक्छ ।
नेपालमा चट्ट्याङको अनुसन्धान
चट्याङ वायुमण्डलीय प्रक्रियाअनुसार एउटा खास अवस्था उत्पन्न भएपश्चात पर्ने गर्छ । यो विषय विद्युतीय पनि भएकाले खासगरी भौतिकशास्त्रीहरूको बढी रुचीको विषय हो । हुन त मौसम विज्ञान, रसायन विज्ञान अनि यसमा रुची राख्ने अन्य वैज्ञानिकले पनि अध्ययन गर्न सक्छन् ।
चट्याङमै गहिरो अध्ययन गरेका नेपाली वैज्ञानिकहरूमा डा. श्रीराम शर्मा, डा. पित्रीभक्त अधिकारी छन् । अन्य केही वैज्ञानिकले पनि यसैमा विधावारिधी गर्दैछन् । केही वर्षयता जलवायु परिवर्तनका कारण पनि चट्याङ पर्ने सिजन लम्बिएको र यसको असर पनि बढदै गएको पाइएको अनुसन्धानकर्मीहरू बताउँछन् ।
कतिपयले यसलाई जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिमध्येकै समस्या मानेर विशेष कार्यक्रम बनाउन सुझाएका पनि छन् । नेपालमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपभन्दा चट्याङका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले थप अनुसन्धान खड्किएको बताइन्छ । सुरक्षाका उपायबारे नीतिनिर्माता पनि गम्भीर बन्नुपर्ने देखिन्छ । हालसम्म चट्याङसम्बन्धी छुट्टै अनुसन्धान केन्द्र छैन ।
आगामी दिनमा त्यो पनि अपरिहार्य देखिएको छ। विद्यालयका भवन, सरकारी कार्यालय, टेलिफोन इन्टरनेटका टावर र निजी भवनसमेत अनिवार्य रूपमा चट्याङबाट सुरक्षित रहने खालका बनाउनुपर्छ । बीमा अनिवार्य गर्नुपर्छ । चट्याङबाट सुरक्षित रहन के के गर्न सकिन्छ, घाइतेको उद्धार, उपचार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतिर अहिलेसम्म भरपर्दो संयन्त्रको विकास गरिएको छैन । गृह मन्त्रालयले धेरैजसो अप्राविधिक कर्मचारीहरूमार्फत विपद् व्यवस्थापनबारे काम टाल्दै आएको छ । आगामी दिनमा त्यसलाई प्राविधिक जनशक्तिसहित प्रदेश र स्थानीय तहले पनि प्रभावकारी काम गर्न सक्नेगरी संयन्त्रको विकास गर्न जरुरी देखिन्छ ।
(लेखक काठमाडौंका विभिन्न कलेजमा भौतिकशास्त्र अध्यापन गराउँछन् । )
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८ २१:१८