झापा । युरो २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ ।
शनिबार राति सकिएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४–२ गोलले पराजित गरेको हो ।
यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो । पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो ।
शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । काउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे ।
खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो। जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए । उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे ।
चार मिनेटपछि पोर्चुगलले दोस्रो आत्मघाती गोल गर्दा जर्मनीले अग्रता लियो। यसपटक किमिचको प्रहारलाई रोक्ने क्रममा पोर्चुगलका गुइरेरोले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए ।
पहिलो हाफमा २–१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल ग¥यो । यसपटक हाभर्ट्जले गोल गर्न सफल भए ।
६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४–१ ले अघि बढ्यो ।
६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४–२ को अवस्थामा आएको थियो ।
जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ । शीर्ष स्थानको फ्रान्सको चार अंक छ ।
फ्रान्सले शनिबारै भएको खेलमा हंगेरीसँग १–१ को बराबरी खेल्यो । पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ ।
जर्मनीले अब बुधबार हंगेरीसँग खेल्ने छ ।