राजेन्द्र गौतम
मेचीनगर । कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली र आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा संविधान मास्ने र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको भन्दै नेपाली कांग्रेस झापाले आपत्ति प्रकट गरेको छ ।
कांग्रेस झापाले प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारी “नाचेको” निष्कर्ष निकाल्दै संसदीय व्यवस्था र संविधान विपरीत गतिविधि नगर्न आग्रहसमेत गरेको छ । कांग्रेस झापाले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन पार्टी केन्द्रीय समितिलाई लिखित आग्रह गर्ने निर्णय गरेको सभापति उद्धब थापाले बताए ।
सूचना, सञ्चार तथा प्रचार विभाग झापाको संयोजनमा कांग्रेस झापाले शुक्रबार सप्पन्न गरेको भर्चुअल बैठकले जिल्लामा रहेका पार्टीका सबै भवनहरु कोभिड निवारणका लागि सरकारलाई उपयोग गर्न दिने निर्णय गरेको छ ।
कांग्रेस झापाले कोभिडबाट ज्यान गुमाएका नेता,कार्यकर्ताप्रती श्रद्धाञ्जली र परिवारमा गहिरो दुःख व्यक्त गर्दै उपचाररत नेता कार्यकर्ताको शीघ स्वास्थ्य लाभको कामना गरेको छ । कोभिड महामारी विरुद्ध लड्न पार्टीले जिल्ला तहमा सभापति थापा, क्षेत्रीय तहमा क्षेत्रीय सभापति र तहगत रूपमा सभापतिहरूको संयोजकत्वमा समिती निर्माण गरी नागरिकको घरदैलोमा पुग्ने निर्णय गरेको छ ।
पार्टीको क्रियाशील सदस्यताका विषयमा पार्टी केन्द्रको निर्देशन र तोकिएको कार्यतालिका अनुसार काम गर्ने निर्णय गरेको सभापति थापाले बताए । कांग्रेस झापा प्रवक्ता लोकराज ढकालले जिल्लाको कोभिड संक्रमणको तथ्यांक प्रस्तुत गरेको कार्यक्रममा प्रचार विभाग संयोजक कृष्ण हुमागाईंले संयोजन र सञ्चालन प्रचार विभाग सचिव राजेन्द्र गौतमले गरेका थिए ।
कार्यक्रममा जिल्ला पार्टी नेताहरू राम कट्टेल, देउमान थेवे, भगीरथ पोद्दार, केशवराज पाण्डे लगायतका नेताहरुले बोलेका थिए । पालिका समितिका सभापति, प्रदेश निर्वाचन समितिका सभापति, क्षेत्रीय समितिका सभापतिले राय प्रस्तुत गरेको कार्यक्रममा सरकारको अकर्मण्यताको चर्को आलोचना भएको थियोे ।
कांग्रेस झापाले सरकारको पछिल्लो गतिविधिले संविधान मास्ने र संसदीय व्यवस्थाकै धज्जी उडाएको किटान गर्दै त्यस्ता हर्कत नरोकिए ज्यानको बाजी थापेर संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८ २०:३१