मेचीनगर । विपदको सारथी बन्दै आइरहेको मेची अभियानले शुक्रबार बुद्धशान्ति र मेचीनगरका उपचार केन्द्रलाई ५ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ ।
करुणा फाउण्डेशसनको सहकार्यमा अभियानले झापामा कन्सनट्रेटर वितरण गर्ने अभियान चलाएको हो ।
शुक्रबार अभियानले झापाको बुद्धशान्ति स्थित कोभिड आइसोलेशन स्थललाई दुई थान, मेचीनगर – ११ स्थित धाइजन आइसोलेशन सेन्टरलाई एक थान तथा धुलावारी स्थित मेची आम्दा अस्पताललाई दुई थान कन्सनट्रेटर हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए ।
अभियानको तर्फबाट उपलब्ध भएका कन्सनट्रेटर बुझ्दै बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले कोभिड–१९ को जोखिमको समयमा अत्यावश्यक अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । सो अवसरमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै अभियानकै तर्फबाट धाइजन आइसोलेसन सेन्टरलाई एक थान कन्सनट्रेटर उपलब्ध गराइएको छ । नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीले अभियानले प्रदान गरेको कन्सनट्रेटर बुझेका थिए ।
शुक्रबारनै अभियानले वडा नम्बर १० स्थित मेची आम्दा अस्पताललाई दुई थान कन्सनट्रेटर हस्तान्तरण गरेको छ । अभियानका संयोजक डालमिया र अभियानका परिकल्पनाकार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतको टोलीले सो सामग्री प्रदान गरेको थियो ।
अस्पताल व्यवस्थानका तर्फबाट नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिना, वडा नम्बर १० का अध्यक्ष सुदय पनेरु, अस्पताल प्रमुख डा. पोषणरमण त्रिपाठीलगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख आचार्यले विपदको समयमा मेची अभियानले नगरपालिकासँगै जोडिएर कार्यक्रम गरि रहेकोमा प्रशंसा गर्दै अभियानसँग अगामी दिनमा समेत नगरपालिकाले सहकार्य गर्ने बताए ।
अभियान संयोजक डालमियाका अनुसार थप कन्सनट्रेटरहरु दातामार्फत आउने क्रममा रहेको छ । झापाका विभिन्न पालिकाहरुलाई करीब २० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उनको भनाई छ । संयोजक डालमियाले भेन्टिलेटरसम्मका उपचार सामग्री अभियानको तर्फबाट हस्तान्तरण गर्ने योजना रहेको बताए ।
अभियानले झापाका स्थानीय तहमा कोरोना संक्रमित बढ्दै जाँदा अक्सिमिटर, औषधिलगायतका सामग्रीहरु वितरण गरेको थियो । अभियानले केएचडिसी, स्थानीय तहसँगको सहकार्यमा कोभिडसँगै ननकोभिडलाई सघाऔं अभियानसमेत सञ्चालन गरेको थियो ।