सन् २०१८ मा पोखरामा आयोजित ‘प्लेमेकिङ वर्कसप’ बाट काठमाडौं फर्किएपछि निर्देशक विमल सुवेदीको भेट पत्रकार गोकर्ण गौतमसँग भयो। उनीहरूले नयाँ नाटक के-कस्तो बनाउने भन्नेबारे सरसल्लाह गरे।
गोकर्णले सुझाए, ‘बनाउने भए नारायण वाग्लेको किताब 'पल्पसा क्याफे' मा बनाउनुहोस्।’
निर्देशक विमलले त्यही बेला प्लेमेकिङ वर्कसपको टोलीबाट तयार भएको नाटक ‘खबर हराएको चिठ्ठी’ मा सहकार्य गरेका थिए। आफू आबद्ध 'थिएटर भिलेज' प्राविधिक रूपमा सञ्चालन नभएकाले उनी रंगमञ्चबाट केही समय ‘ब्रेक’ लिने सोचमा पनि थिए। तर द्वन्द्वकालको सेरोफेरोमा बनेको नाटक ‘खबर हराएको चिठ्ठी’ को ‘ह्यांग’ उनको दिमागमा अझै थियो। गोकर्णले पनि द्वन्द्वकालमै आधारित उपन्यासलाई नाटक बनाउने सुझाएका थिए।
त्यो भेटमा बनेको योजना झन्डै दुई वर्षपछि पूरा हुन लागेको छ। मंगलबार मण्डला नाटकघरमा प्रेस सम्मेलन गर्दै टोलीले ‘पल्पसा क्याफे’ मञ्चन हुने आधिकारिक जानकारी दिएका हुन्।
नाटकलाई विमलले निर्देशन गर्दैछन् भने दिलीप रानाभाट सहायक निर्देशक छन्। उपन्यासलाई नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन्। नाटकमा पल्पसाको भूमिका अभिनेत्री स्वस्तिमा खड्काले गरेकी छन्।
आफ्नो पहिलो किताबमाथि नाटक बन्ने कुरामा लेखक नारायण वाग्ले खुसी र नाटक हेर्न उत्साहित रहेको बताउँछन्।
उनले नाटकको पटकथासमेत नपढेको र टोलीलाई स्वतन्त्र रूपमा नाटक प्रस्तुत गर्न छाडिदिएको बताए। ‘स्क्रिप्ट पढ्न दिनुभएको थियो, तर मैले पढ्न भ्याएको छैन। अब सिधैं मञ्चमा हेर्न उत्साहित छु,’ उनले भने।
लेखक वाग्लेका अनुसार उनलाई यसअघि पनि पटक-पटक ‘पल्पसा क्याफे’ लाई फिल्ममा रूपान्तरण गर्ने प्रस्ताव आएको थियो। त्यो बेला उनले कसैलाई अनुमति दिएनन्। यसपटक भने टोलीमाथि विश्वास राखेर नाट्य रूपान्तरणका लागि अनुमति दिएको उनी बताउँछन्।
अभिनेत्री स्वस्तिमाको यो पहिलो नाटक प्रस्तुति हुनेछ। ‘म फिल्म क्षेत्रमा प्रवेश गरिसक्दा पनि रंगमञ्चको दुनियाँबाट अनभिज्ञ थिएँ। यसबारे ज्ञान भएपछि एकदिन नाटक गर्छु भन्ने सोचेकी थिएँ,’ स्वस्तिमाले उक्त अवसर पल्पसा क्याफेबाट पाएको बताइन्, ‘यो नाटकबारे गोकर्ण दाइले जानकारी गराउनुभएको थियो। अडिसनपछि मैले नाटक गर्ने मौका पाएँ।’
ठूलो पर्दा र म्युजिक भिडिओमा जमेकी स्वस्तिमाका लागि रंगमञ्च चुनौतीपूर्ण हुनेवाला छ। पर्दामा जस्तै नाटकमा रेकर्ड गर्ने र फेरिफेरि टेक लिने भन्ने हुँदैन। ‘अहिले वर्कसप भइरहेको छ। सहकर्मीहरू सहयोगी हुनुहुन्छ। संवादहरू छिट्टै याद हुने भएकाले सहजै छ,’ उनले भनिन्।
उपन्यासको नाट्य रूपान्तरण गरेका सुरजले उक्त उपन्यास प्रेम कथा मात्र नभई व्यक्तिहरूको मानसिक आघातसँग सम्बन्धित रहेको बताए।
लेखक वाग्ले भने १५ वर्षअघि ‘पल्पसा क्याफे’ लेख्दा एक प्रेमकथाका रूपमा लेखेको बताउँछन्। समयअनुसार त्यो प्रेमकथा द्वन्द्वसँग जोडिन पुगेको उनको भनाइ छ।
उपन्यास ‘पल्पसा क्याफे’ अधुरो रहेको र यसको सिक्वेल पनि आउँछ कि भन्ने जिज्ञासामा उनले भने, ‘पहिलो प्रेमपत्रको सिक्वेल नै हुँदैन। अर्को प्रेमपत्रले अर्कै कथा भन्छ। त्यसैले पल्पसा क्याफेको सिक्वेल सोचेकै छैन।’
उपन्यासलाई कुन पात्रबाट देखाउँदा उपयुक्त हुन्छ भन्ने हेक्का पाउन यसको पटकथा तीनपटक लेखेको बताउँदै निर्देशक विमल भन्छन्, ‘अन्ततः नाटक उपन्यासको हजुरआमा पात्रबाट देखाइनेछ।’
विभिन्न सामाजिक तथा राजनीतिक विषयमा नाटक निर्देशन गरेका विमलका अनुसार ‘पल्पसा क्याफे’ को कथा कहिल्यै पुरानो हुनेखालको छैन।
लेखक वाग्लेले पनि भने, ‘प्रेम कहिल्यै पुरानो हुँदैन।
नाटक ‘पल्पसा क्याफे’ मा अभिनेत्री स्वस्तिमासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ।
नाटक यही चैत अन्तिम वा वैशाखमा मञ्चन गर्ने उद्देश्यले अभ्यास भइरहेको छ। थिएटर भिलेजको यो नाटक काठमाडौंस्थित मण्डला नाटकघरबाट मञ्चन हुनेछ भने सातै प्रदेशमा मञ्चन गर्ने योजना रहेको टोलीले बताए।