मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्र भित्र कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
मेचीनगर कोभिड फोकल पर्शन सबिता सापकोटाका अनुसार कोरोनाको दोस्रो लहर चलेयता बुधबारसम्म एक हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टिजिन परीक्षणमा थप एक सय ७८ जनामा पोजेटिभ नतिजा आएको छ ।
जसमा बुधबारमात्र ३० जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये हालसम्म ८ सय ५ जना कोरोनामुक्त भएका छन् । बुधबार थप २१ जना संक्रमणमुक्त भएका छन् । जुन कुल संक्रमितको करिब ८० प्रतिशत हुन आउँछ ।
कोरोनाका सक्रिय संक्रमितमध्ये एक जना वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकीमा रहेको कोभिड आइसोलेसन सेन्टरमा छन् भने ७ जना विभिन्न कोभिड उपचार केन्द्रमा उपचाररत रहेका छन् ।
मेचीनगरमा रहेका सक्रिय संक्रमित मध्ये दुई सय १७ जना होम आइसोलेसनमै रहेर स्वास्थ्य लाभ लिइ रहेका छन् ।
हालसम्म कोरोना संक्रमण पछि नगरमा ३० जनाको ज्यान गएको फोकल पर्सन सापकोटाले जानकारी दिइन् । यसरी हेर्दा नगरमा कोरोना संक्रमण पछिको मृत्यु दर ३ प्रतिशत देखिएको छ ।
निको हुनेको तुलनामा मृत्युदर भने केहि उच्च देखिएको छ । जसले खतराको संकेत गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
पछिल्लो समयमा कोभिड विरुद्धको खोपको उच्च माग भइ रहेको छ । कोरोनाको दोस्रो लहर चलेयता नगरमा कोरोना संक्रमितको संख्या उच्च देखिएको थियो ।
वैशाख २२ गतेबाट झापामा जारी भएको निषेधाज्ञाका कारण संक्रमण केहि घटेको देखिएको थियो । तर, निषेधाज्ञा खुकुलो बन्दै जाँदा नगरमा कोरोना संक्रमित थपिने क्रम फेरि सुरु भएको पाइएको छ । यसले थप खतरा निम्त्याउने होकी भन्ने त्रास बढाएको छ ।
आम मानिसको दैनिकी कठिन बन्दै गएको गुनासो बढेसँगै स्थानीय प्रशासन बाध्य भएर निषेधाज्ञा खुकुलो बन्दै गएको सम्बन्धित क्षेत्रका अधिकारीहरुले बताएका छन् ।
त्यसैले भविष्यमा आउँन सक्ने खतरतर्फ सचेत बन्दै नागरिक आँफैले सावधानि अपनाउनुको विकल्प छैन् ।
जन–संसद् दैनिकबाट